देश/समाज

काठमाडौं उपत्यकामा छठको तयारी अन्तिम चरणमा, कमलपोखरीदेखि गौरीघाटसम्म सजाइयो

काठमाडौँ ।

काठमाडौं उपत्यकामा छठ पर्वको तयारी अन्तिम चरणमा पुगेको छ । छठ पर्व नजिकिएसँगै काठमाडौंका विभिन्न नदी, पोखरी तथा जलाशय क्षेत्रमा सरसफाइ, सजावट र पूजास्थल व्यवस्थापनका काम तिब्र पारिएको छ । काठमाडौंको कमलपोखरी, थापाथली, गौरीघाटलगायतका स्थानमा छठ पर्व मनाउन आवश्यक तयारी भइरहेको छ । ती स्थानमा व्रतालु तथा श्रद्धालुहरूलाई सहज रूपमा पूजा गर्न सक्ने वातावरण बनाउन घाट व्यवस्थापन, सरसफाई र सजावटका कामलाई प्राथमिकता दिइएको छ । छठ पर्वका अवसरमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिने परम्परा रहेकाले नदी, पोखरी तथा जलाशयका किनारमा विशेष तयारी गरिन्छ । यही परम्परालाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पूजाका लागि आवश्यक संरचना तयार पार्ने र घाटलाई व्यवस्थित बनाउने काम भइरहेको छ । विशेषगरी कमलपोखरी, गौरीघाट र थापाथली क्षेत्रमा छठ मनाउन आउने व्रतालु तथा भक्तजनको सुविधालाई ध्यानमा राखेर तयारी भइरहेको छ ।

छठ पर्वका बेला यी स्थानमा श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहने गर्दछ । छठ पर्व सूर्यदेव र छठी माताको पूजा आराधना गरी मनाइने महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो । यस पर्वमा व्रतालुहरूले कठोर व्रत बसेर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य र भोलिपल्ट उदाउँदो सूर्यलाई अन्तिम अघ्र्य अर्पण गर्ने परम्परा छ । विशेषगरी तराई–मधेश क्षेत्रमा धुमधामका साथ मनाइने छठ पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न शहरी क्षेत्रमा पनि व्यापक रूपमा मनाउन थालिएको छ । उपत्यकामा बसोबास गर्ने तराई–मधेसका समुदायसँगै अन्य समुदायका व्यक्तिहरूको सहभागिताले पनि पर्वको सांस्कृतिक महत्व र आकर्षण बढाएको छ । छठ पर्वले धार्मिक आस्थासँगै सामाजिक सद्भाव, पारिवारिक एकता र सामुदायिक सहकार्यको सन्देशसमेत दिने गरेको छ । जलाशय तथा नदी किनारमा सामूहिक रूपमा पूजा गर्ने परम्पराले विभिन्न समुदायबीच आपसी सम्बन्ध र सांस्कृतिक एकतालाई थप मजबुत बनाउने विश्वास गरिन्छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भइरहेको तयारीले छठ पर्वलाई व्यवस्थित र भव्य रूपमा मनाउने वातावरण तयार हुँदै गएको छ ।

Related Post
Share

This website uses cookies.