राजनीति

मक्का सम्झौताः साउदी अरेबियालाई लडाकु सैनिक नभई रक्षा प्रविधि दिने टर्किएको तयारी

यमनका हुथी विद्रोहीले रियादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको घातक आक्रमणपछि साउदी अरेबिया, पाकिस्तान र टर्किएबीच सम्पन्न ‘मक्का संयुक्त रक्षा सम्झौता’ पहिलो पटक अग्निपरीक्षामा परेको छ । यसैबीच, क्षेत्रीय युद्धमा प्रत्यक्ष फस्नबाट जोगिन टर्किएले साउदी अरेबियामा आफ्ना लडाकु सैनिक नपठाई रक्षा प्रविधि, ड्रोन तथा गुप्तचरी सहयोगमा सीमित रहने रणनीति तय गरेको छ । गत अगस्ट ७ मा सम्पन्न मक्का संयुक्त रक्षा सम्झौताअनुसार साउदी अरबमाथिको हुथी आक्रमण तिब्र बन्दै गएपछि अक्टोबर ५ मा गठबन्धन सेना परिचालन गर्ने घोषणा गरिएको थियो । तर टर्किएले प्रत्यक्ष युद्धमा होमिनुको साटो साउदीलाई प्राविधिक तथा रक्षा प्रणालीमार्फत सुरक्षा प्रत्याभूति दिने बाटो रोजेको कुटनीतिक विश्लेषकहरूले बताएका छन् । टर्किएका विदेशमन्त्री हाकान फिदानले उक्त सम्झौता विशुद्ध रक्षात्मक प्रकृतिको भएको र यसले कुनै पनि आक्रामक सैन्य कारबाहीको अनुमति नदिने प्रष्ट पारिसकेका छन् । टर्कीको संसदमा सेना परिचालनको प्रश्ताव अनुमोदनका लागि अघि बढ्दै गर्दा मुलुकभित्र यो सम्झौताले टर्किएलाई अनावश्यक क्षेत्रीय द्वन्द्वमा तान्न सक्ने भन्दै राजनीतिक तथा जनस्तरमा तिब्र बहस शुरु भएको छ । इस्तानबुल आयदिन विश्वविद्यालयका परराष्ट्र मामिला विज्ञ कानन तेर्कानकाअनुसार टर्किएले प्रत्यक्ष लडाकु सैनिक परिचालन गर्नुको साटो मानवरहित हवाई साधन, हवाई रक्षा प्रणाली र साइबर सुरक्षाजस्ता उच्च प्राविधिक स्रोतहरू साउदी अरबलाई उपलब्ध गराउने सम्भावना उच्च छ । उनले मध्यपूर्व अत्यन्त संवेदनशील र गुटगत द्वन्द्वले भरिएको क्षेत्र भएकाले यहाँ थप युद्ध भड्किए त्यसले क्षेत्रीय मात्र नभई विश्व अर्थतन्त्रमै ठूलो संकट ल्याउन सक्ने चेतावनी दिएका छन् । आतंकवादविरोधी लडाइँका कारण टर्किएसँग उन्नत घरेलु रक्षा उद्योग र गहिरो प्राविधिक ज्ञान रहेको छ । स्थल सेना पठाउनुभन्दा ड्रोन सञ्चालक तथा हवाई सुरक्षा विज्ञहरू पठाएर प्राविधिक सहायता उपलब्ध गराउँदा टर्किएले आन्तरिक विवाद र वाह्य युद्धको जोखिम दुवैबाट जोगिने रणनीति अख्तियार गरेको विश्लेषकहरूको ठम्याइ छ ।

Related Post
Share

This website uses cookies.