राजनीति

अक्टोबर चुनावअघि इरानमाथि पूर्व–आक्रामक हमला ‘असुविधाजनक’- प्रधानमन्त्री नेतान्याहु

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अक्टोबर २७ मा निर्धारित संसदीय निर्वाचन हुनुअघि इरानविरुद्ध ‘प्रि–एम्पेटिभ’ अर्थात पूर्व–आक्रामक सैन्य कारबाही गर्नु हालका लागि ‘असुविधाजनक’ हुने बताउनुभएको छ । इजरायलको आर्मी रेडियोसँगको अन्तर्वार्तामा उहाँले इरान समर्थित समूहहरूबाट आगामी दिनमा हुनसक्ने सम्भावित आक्रमणप्रति कडा चेतावनीसमेत दिनुभयो । प्रधानमन्त्री नेतान्याहुले पछिल्लो समय इरान समर्थित सशस्त्र समूहहरूले इजरायली भूमिमा रकेट प्रहार गर्ने वा अन्य किसिमका आक्रमणको योजना बनाइरहेको दाबी गर्नुभयो । चुनावको मुखैमा सुरक्षा स्थिति जटिल बन्दै गएको संकेत गर्दै उहाँले इजरायलमाथि हुने कुनै पनि प्रहारको कडा प्रतिवाद गरिने बताउनु भयो । यसअघि सेप्टेम्बर २९ मा पनि नेतान्याहुले यस्तै प्रकारको चेतावनी दिनुभएको थियो । उहाँले इजरायलका शत्रुहरूलाई लक्षित गर्दै भन्नुभएको थियो, ‘हामीसँग नउल्झिनुहोस् । हाम्रो लामो हात जुनसुकै ठाउँमा र जुनसुकै समयमा तपाईंहरूसम्म पुग्न सक्षम छ ।’
यो भनाइलाई सुरक्षा विश्लेषकहरूले क्षेत्रीय तनाव र चुनावी अभियान दुवैसँग जोडेर हेरेका छन् ।
आगामी अक्टोबरको निर्वाचनमा नेतान्याहु आफ्नो सातौं कार्यकालका लागि चुनावी मैदानमा छन् । तर हालका जनमत सर्वेक्षणहरूले उनका मुख्य प्रतिस्पर्धी मध्यमार्गी दलभन्दा लिकुड पार्टी केही पछि परेको देखाएका छन् । राजनीतिक वृत्तमा यस्तो सुरक्षात्मक चेतावनीलाई चुनावी लाभ हासिल गर्ने रणनीतिको रूपमा समेत विश्लेषण गरिएको छ । इजरायलको सुरक्षा र छिमेकी राष्ट्रहरूसँगको बढ्दो तिक्तता यसपटकको निर्वाचनमा प्रमुख मुद्दा बन्ने निश्चित देखिएको छ ।

Related Post
Share

This website uses cookies.