काठमाडौँ ।
काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रतिष्ठानमा ३४० कार्यदिन लामो आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरी आठ महिलासहित ७९ जना नवप्रवेशी प्रहरी निरीक्षकहरू दीक्षित भएका छन् । सोमवार आयोजित १८४ औँ समूहको दीक्षान्त कवाज समारोहसँगै उनीहरू नागरिक सेवा र शान्ति सुरक्षाको औपचारिक जिम्मेवारी सम्हाल्दै कार्यक्षेत्रमा परिचालित भएका हुन् । प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यकाअनुसार गत वर्षको जेठ २३ गतेदेखि शुरु भएको यस आधारभुत तालिममा छनोट भएका ७७ जनामध्ये एक जना मिसनमा रहेको तथा अघिल्लो समूहका तीन जना थप भई कुल ७९ प्रशिक्षार्थी सहभागी थिए । जसमा ७१ पुरुष र ८ महिला अधिकृत रहेका छन् । शैक्षिक योग्यतातर्फ १६ जना स्नातकोत्तर र ६३ जना स्नातक उत्तिर्ण जनशक्ति रहेका छन् । समावेशी प्रतिनिधित्व झल्किने गरी सम्पन्न यस तालिममा कोशी प्रदेशबाट १७, मधेसबाट १२, वागमतीबाट ११, गण्डकीबाट १०, लुम्बिनीबाट १६, कर्णालीबाट ५ र सुदूरपश्चिम प्रदेशबाट ८ जना अधिकृत दीक्षित भएका छन् । कुल १ हजार ३ सय ५० पूर्णाङ्कमा सञ्चालित तालिमअन्तर्गत आन्तरिकतर्फ ६२० र वाह्यतर्फ ७३० अङ्कको वस्तुनिष्ठ एवं वैज्ञानिक मूल्याङ्कन गरिएको थियो ।
आन्तरिक प्रशिक्षणमा प्रशासन, सुरक्षा व्यवस्थापन, कानुन, अपराध अनुसन्धान, फरेन्सिक विज्ञान तथा आधुनिक प्रहरी युक्ति समावेश रहेका आचार्यले बताउनु भयो । दीक्षान्त समारोहमा बोल्दै डीआईजी आचार्यले काँधमा लगाइएको दज्र्यानी चिह्न पदको भार मात्र नभई नागरिकको भरोसा र राज्यको विश्वास भएको उल्लेख गर्नुभयो । विधिको शासन, मानव अधिकारको संरक्षण तथा ‘सत्य सेवा सुरक्षणम्’ को मन्त्र आत्मसात गर्दै कुनैपनि दबाब वा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सेवा प्रवाह गर्न उहाँले नवअधिकृतहरूलाई निर्देशन दिनुभयो ।त्यस्तै वाह्य अभ्यासअन्तर्गत कवाज, फायरिङ, रक क्लाइम्बिङ, विपद् उद्धार, आपत्कालीन स्वास्थ्य प्रतिकार्य तथा भिड नियन्त्रणलगायतका व्यावहारिक कौशल सिकाइएको छ । कठिन हिमाली भूगोल तथा तराईको सामाजिक धरातल बुझाउन प्रशिक्षार्थीहरूलाई सगरमाथा र अन्नपूर्ण आधार शिविर तथा मुगुको थराङला पाससम्म स्थलगत अध्ययन भ्रमण गराइएको थियो । –
This website uses cookies.