राजनीति

दक्षिण अफ्रिकामा पारिवारिक जमघटमा अन्धाधुन्ध गोली चल्दा गर्भवती महिलासहित ११ जनाको मृत्यु

दक्षिण अफ्रिकाको दक्षिण–पूर्वी प्रान्त क्वाजुलु–नातालस्थित क्वामाखुथा क्षेत्रमा मङ्गलवार राति भएको भीषण गोलीकाण्डमा एक गर्भवती महिलासहित ११ जनाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन् । स्थानीय बस्तीको एक घरभित्र जमघट भइरहेका बेला तीन जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा यो मानवीय क्षति भएको प्रहरीले जनाएको छ । दक्षिण अफ्रिकी प्रहरी सेवा (एसएपीएस) ले जारी गरेको आधिकारिक विवरणअनुसार घटना क्वामाखुथा टाउनसिपको जिको इलाकामा मङ्गलबार राति घटेको हो । घरभित्र १३ जना पुरुष र एक गर्भवती महिला जमघट भई रमाइलो गरिरहेका बेला अचानक प्रवेश गरेका तीन जना अज्ञात बन्दुकधारीहरूले उनीहरूमाथि ताबडतोब गोली बर्साएका थिए । आक्रमणकारीहरूको गोली प्रहारबाट महिलासहित १० जनाको घटनास्थलमै ज्यान गएको थियो । घटनामा घाइते भएका अन्य चार जनालाई तत्काल उद्धार गरी स्थानीय अस्पताल पु¥याइए पनि उपचारका क्रममा थप एक जनाको मृत्यु भएपछि मृतकको संख्या ११ पुगेको प्रहरीले जनाएको छ । हाल तीन जना घाइतेको अस्पतालमा उपचार जारी छ र उनीहरूको अवस्था गम्भीर रहेको बताइएको छ । यो विभत्स हत्याकाण्डलगत्तै दक्षिण अफ्रिकी प्रहरी सेवाका कार्यवाहक राष्ट्रिय आयुक्त पुलेङ डिम्पानेले आक्रमणकारीहरूलाई तत्काल नियन्त्रणमा लिन कडा निर्देशन दिनुभएको छ । प्रहरी प्रशासनले अभियुक्तहरूको पहिचान र पक्राउका लागि ७२ घण्टे विशेष खोज तथा अपरेसन (ट्रयाकिङ अपरेसन) शुरु गरिसकेको छ । प्रारम्भिक अनुसन्धानबाट प्राप्त विवरण अनुसार आक्रमणको शिकार भएका केही व्यक्तिहरू यसअघि नै आपराधिक गतिविधिमा संलग्न रहेको आशंकामा प्रहरीको गुप्तचर शाखा (क्राइम इन्टेलिजेन्स) को निगरानी सूचीमा रहेका थिए । यद्यपि, यो आक्रमण कुनै ग्याङवार वा आपराधिक प्रतिशोधका कारण भएको हो वा अन्य कुनै कारणले भन्नेबारे प्रहरीले औपचारिक पुष्टि गरिसकेको छैन । प्रहरीले घटनास्थललाई घेराबन्दी गरी विस्तृत अनुसन्धान अगाडि बढाएको छ ।

Related Post
Share

This website uses cookies.