राजनीति

एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन

काठमाडौँ । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलले सर्वसम्मत प्रतिवेदन तयार गरेको छ ।
कार्यदलले तयार गरेको प्रतिवेदन आईतवार बस्ने पार्टी सचिवालय बैठकमा पेस गर्ने निर्णय गरेको हो । आईतवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले सचिव पद्मा अर्यालले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका विषयमा कार्यदलमा गम्भीर छलफल भएको बताउनु भयो । उहाँकाअनुसार बदलिँदो जनताको मनोविज्ञान, पार्टीले सामना गरिरहेका चुनौती तथा एमालेलाई एकतावद्ध बनाएर अघि बढाउने विषयमा छलफल गरिएको थियो। कार्यदलमा आएका विभिन्न सुझावलाई खुला रूपमा छलफल गरी साझा प्रतिवेदन तयार गरिएको उहाँले बताउनु भयो । कार्यदलमा यसअघि विभिन्न नेताका छुट्टाछुट्टै प्रतिवेदन रहेको चर्चा भएपनि ती अलग–अलग प्रतिवेदन नभई मस्यौदा मात्र भएको अर्यालले स्पष्ट पार्नुभयो । उहाँकाअनुसार कार्यदलका संयोजक तथा एमाले उपाध्यक्ष रामबहादुर थापाले बैठकमा पेस गरेको मस्यौदामा आवश्यक थपघट तथा परिमार्जन गरी सर्वसम्मत रूपमा साझा प्रतिवेदन तयार गरिएको हो । अर्यालले प्रतिवेदनमा नेतृत्व पुनर्गठन वा नेतृत्व परिवर्तनको विषय समावेश नगरिएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘यो तीन वटा प्रतिवेदन होइन, एउटा मस्यौदा हो । कसैले कुनै विषयमा मस्यौदा गर्नुभएको हुन्छ । त्यसलाई एकीकृत बनाएर बैठकले फाइनल गरेपछि बल्ल त्यो प्रतिवेदन हुन्छ । अहिले कार्यदलले नेतृत्व पुनर्गठनसँग जोडिएको चिज पेस गर्दैन । यो प्रतिवेदन दिउँसो सचिवालयमा जान्छ । सचिवालयले के गर्छ, त्यो सचिवालयको कुरा हो ।’
उहाँले कार्यदलले तयार गरेको प्रतिवेदनलाई कुनै एक नेताको मात्र प्रतिवेदनका रूपमा बुझ्न नहुने बताउनु भयो । संयोजक बादलले मस्यौदा पेश गरे पनि छलफल र परिमार्जनपछि त्यसलाई कार्यदलको साझा दस्तावेजका रूपमा तयार गरिएको उहाँको भनाइ छ । अर्यालकाअनुसार कार्यदलले तयार गरेको प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको हो ।

Related Post
Share

This website uses cookies.