देश/समाज

कान्ति लोकपथमा पहिरोको सास्तीः सडक खुलाउन प्रयास जारी, निर्माण कार्य भने प्रभावित

काठमाडौं । पृथ्वी राजमार्गका विभिन्न खण्डमा पहिरोका कारण आवागमन अवरुद्ध भएपछि वैकल्पिक मार्गका रूपमा रहेको कान्ति लोकपथमा सवारी साधनको चाप अत्याधिक बढेको छ ।
अत्याधिक सवारी चाप र निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण यो राजमार्ग सञ्चालनमा चुनौती थपिएको हो । हाल कान्ति लोकपथ हुँदै दैनिक एक हजारभन्दा बढी सवारी साधन आवतजावत गरिरहेका छन् । विशेषगरी हेटौँडाबाट मालवाहक र यात्रुवाहक सवारी साधनहरू त्रिभुवन राजपथ हुँदै काठमाडौं भित्रिने र काठमाडौँबाट खाली फर्किएका सवारी साधनहरू कान्ति लोकपथ प्रयोग गरी हेटौँडा जाने व्यवस्था मिलाइएको छ । काठमाडौंको एकान्तकुना, टीकाभैरव, ठिङ्गन हुँदै हेटौँडा जोड्ने यो सडक खण्डमा सवारी चाप बढेपछि व्यवस्थापनमा कठिनाइ भएको हो ।
कान्ति राजमार्ग सडक योजनाका इन्जिनियर उपेन्द्र महारानअनुसार सडकलाई सुचारु राख्न विभिन्न खण्डमा जनशक्ति र उपकरणहरू परिचालन गरिएको छ । टीकाभैरवदेखि तीनपानेसम्म तीनवटा ह्विल एक्स्काभेटर र एउटा ब्याकहो लोडर परिचालन गरिएको छ । त्यस्तै, तीनपानेदेखि टार्कुचे खण्डमा पनि निर्माण व्यवसायीमार्फत उपकरणहरू परिचालन गरी सडक खुलाउने काम भइरहेको छ । टार्कुचेदेखि वागमती खोला (बगुवा) सम्मको जोखिमपूर्ण खण्डमा तीनवटा एक्स्काभेटर र दुईवटा लोडर तैनाथ राखिएका छन् ।
मकुवानपुर खण्डतर्फ ठिङ्गनदेखि हेटौँडासम्मको सडक तुलनात्मक रूपमा सुरक्षित र कालोपत्रे भइसकेकाले त्यहाँ आवागमन केही सहज छ । यद्यपि, लेबडाँडा र सिमाद खोला आसपासमा वर्षा हुँदा सामान्य अवरोध हुने गरेको इन्जिनियर महराले जानकारी दिनुभयो । सडक विभाग, जिल्ला प्रशासन, नेपाल प्रहरी र ट्राफिक प्रहरीको टोली अहोरात्र खटिएर सडक सुचारु राख्ने प्रयास गरिरहेको उहाँको भनाइ छ ।
सडकको विर्खेधारा खण्डमा पहिरो पन्छाउने काम गरिरहनुभएका सब–कन्ट्रयाक्टर धनबहादुर लिम्बूकाअनुसार वैशाखदेखि नै निरन्तरको पहिरोले काममा बाधा पु¥याइरहेको छ । हाल दुईवटा स्काभेटर र छवटा टिपर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । जिल्ला प्रशासन कार्यालयको निर्देशनअनुसार सडक अवरुद्ध हुन नदिन १०–१० मिनेट सवारी रोक्दै पहिरो पन्छाउने कार्य जारी राखिएको छ । यद्यपि, पहिरोको माटो फाल्ने उचित स्थान (डम्पिङ साइट) को अभाव र स्थानीय वन समिति तथा खानेपानी उपभोक्ताहरूको अवरोधका कारण काममा ढिलाइ भइरहेको लिम्बूले बताउनु भयो ।
निर्माण व्यवसायी राजकुमार बुढाथोकीकाअनुसार बाढी र पहिरोको जोखिमका कारण निर्माणाधीन यस सडकमा हाल निर्माणका कामहरू ठप्प भएका छन् । झन्डै १५० जना मजदुरहरू काम छोडेर बस्नुपर्ने अवस्था सिर्जना भएको छ । बगुवादेखि टीकाभैरवसम्मका छपेली, टार्कुचे र विर्खेधारा जस्ता ठूला पहिरोहरूले सडकलाई अझै जोखिमपूर्ण बनाएका छन् ।
अहिलेको विपद्को समयमा कान्ति लोकपथलाई ‘सर्भिसेबल’ (चलायमान) बनाउनु नै मुख्य प्राथमिकता रहेको प्राविधिकहरूको भनाइ छ । पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा नआएसम्म यस सडकमा चाप नघट्ने र त्यसपछि मात्र रोकिएका निर्माण कार्यहरू पुनः अगाडि बढाउन सकिने देखिन्छ ।

Related Post
Share

This website uses cookies.