राजनीति

ओकिनावामा क्षति पुर्‍याउँदै शक्तिशाली समुन्द्री आँधी ‘जाङ्ग्मी’ जापानको क्युशुतर्फ प्रस्थान

जापानको ओकिनावा टापुमा प्रभाव पारेपछि शक्तिशाली समुन्द्री आँधी ‘जाङ्ग्मी’ मंगलवार दक्षिण–पश्चिमी टापु क्युशुतर्फ अघि बढेको यहाँको मौसम विज्ञान एजेन्सीले जनाएको छ । जापान मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार यस वर्षको छैटौँ ताइफुनका रूपमा रहेको ‘जाङ्ग्मी’ स्थानीय समयअनुसार मंगलवार बिहान ७ बजे कागोशिमा र ओकिनावा प्रान्तको बीचमा पर्ने अमामी–ओशिमा टापुको पश्चिम–उत्तरपश्चिममा अवस्थित थियो । यो आँधी हाल करिव २५ किलोमिटर प्रतिघण्टाको गतिमा उत्तर–पूर्वतर्फ बढिरहेको छ । सार्वजनिक प्रसारक संस्था एनएचकेका अनुसार ओकिनावा प्रान्तमा चलेको तिब्र गतिको हावाहुरीका कारण १० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् । आँधीका कारण क्युशु र अन्य क्षेत्रमा गरी मंगलबार ३२० भन्दा बढी उडानहरू रद्द गरिएका छन् । यसैगरी, मंगलबार रातिदेखि बुधबारसम्म तोकाइदो लाइन लगायतका सिन्कानसेन बुलेट रेल सेवाहरू पनि प्रभावित हुन सक्ने बताइएको छ । मौसम विज्ञान एजेन्सीले अमामी क्षेत्र र पश्चिमी जापानमा तीव्र हावाहुरी र भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आह्वान गरेको छ । एजेन्सीले सम्भावित पहिरो, तल्लो तटीय क्षेत्रमा हुनसक्ने डुबान र नदीहरूमा आउन सक्ने बाढीप्रति सचेत रहन चेतावनी समेत दिएको छ ।

Related Post
Share

This website uses cookies.