काठमाडौँ ।
नेपाल चेम्बर अफ कमर्सका महानिर्देशक देवेन्द्र लामिछानेले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गराउन उनीहरूको वास्तविक आय, कामको प्रकृति र आर्थिक क्षमताका आधारमा व्यावहारिक नीति बनाउनुपर्ने बताउनुभएको छ । नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सामाजिक सुरक्षामा श्रमिकको दर्ता सङ्ख्या बढाउनु मात्र पर्याप्त नहुने बताउँदै उनीहरूको योगदान गर्नसक्ने अवस्था र रोजगारीको निरन्तरतासमेत ध्यानमा राख्नुपर्ने बताउनु भयो । उहाँकाअनुसार रोजगारदाता पनि विभिन्न आर्थिक चुनौतीबाट गुज्रिरहेका छन् । व्यवसायको लागत, बैंक ब्याजदर, कर प्रशासनका प्रक्रिया, बजारको अनिश्चितता, मागमा हुने उतारचढाव, विद्युत तथा उत्पादन लागत र कार्यशील पुँजीको अभावले व्यवसाय सञ्चालन कठिन बन्दै गएको छ । त्यसैले सामाजिक सुरक्षा प्रणालीको कार्यान्वयन सहज, सरल र व्यावहारिक हुनुपर्छ । लामिछानेले श्रमिकको सुरक्षा र रोजगारदाताको आर्थिक क्षमतालाई एकअर्काको विरोधी विषयका रूपमा हेर्न नहुने बताउनु भयो । दुवै पक्षलाई सन्तुलित बनाएर अगाडि बढ्नु नै दिगो सामाजिक सुरक्षा प्रणालीको आधार भएको बताउँदै उहाँले नेपाल चेम्बर अफ कमर्स सामाजिक सुरक्षा प्रणालीको विस्तार, श्रमिकको सम्मान, सुरक्षित कार्यस्थल र जिम्मेवार रोजगार सम्बन्धको पक्षमा रहेको बताउनु भयो । सामाजिक सुरक्षा प्रणाली बलियो हुँदा कर्मचारीको संस्थाप्रतिको विश्वास, दीर्घकालीन संलग्नता, श्रम उत्पादकत्व र संस्थागत स्थायित्वमा सकारात्मक योगदान पुग्ने उहाँको भनाइ छ ।
यद्यपि यसको कार्यान्वयन गर्दा विशेषगरी सूक्ष्म, साना तथा मझौला उद्यमहरूको आर्थिक क्षमतालाई ध्यान दिनुपर्ने उहाँले बताउनु भयो । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले नोभेम्बर २०२६ मा प्रकाशित गरेको यातायात क्षेत्रसम्बन्धी अध्ययनलाई उद्धृत गर्दै उहाँले नेपालको यातायात क्षेत्रमा करिव ७३ प्रतिशत रोजगारी अनौपचारिक रहेको जानकारी दिनुभयो । अध्ययनमा सर्वेक्षण गरिएका १६० श्रमिकमध्ये कसैसँग पनि लिखित रोजगारी सम्झौता नभएको र तीन जना मात्र सामाजिक सुरक्षा कोषमा आवद्ध रहेको उल्लेख गरिएको उहाँले बताउनुभयो । व्यवसाय दर्ता हुनु र श्रमिकको रोजगार सम्बन्ध औपचारिक हुनु फरक विषय रहेको उल्लेख गर्दै उहाँले कानुनी व्यवस्था मात्र बनाएर सामाजिक सुरक्षा प्रणाली प्रभावकारी हुन नसक्ने बताउनु भयो । त्यसका लागि सरल प्रक्रिया, पर्याप्त जानकारी र रोजगारदाता तथा श्रमिक दुवैका लागि विश्वसनीय प्रणाली आवश्यक रहेको उहाँको भनाइ छ ।लामिछानेले सामाजिक सुरक्षा कोषले रोजगारदाता तथा श्रमिकका अनुभव, समस्या र सुझाव नियमित रूपमा सुन्ने संस्थागत संयन्त्र बनाउनुपर्नेमा जोड दिनुभयो । निजी क्षेत्रका संस्थाहरूसँग सहकार्य गरी आबद्धता प्रक्रिया सरल बनाउने, योगदान गणना तथा भुक्तानी सहज गर्ने, दाबी भुक्तानी छिटो गर्ने र योजनाबारे स्पष्ट जानकारी उपलब्ध गराउनुपर्ने उहाँले बताउनु भयो । सामाजिक सुरक्षा प्रणालीलाई केवल कानूनी बाध्यता वा प्रशासनिक प्रक्रियाका रूपमा सिमित गर्न नहुने उल्लेख गर्दै उहाँले श्रमिक र रोजगारदाता दुवैले यसलाई भविष्य सुरक्षित गर्ने अवसरका रूपमा अनुभव गर्न सक्ने वातावरण बनाउनुपर्ने उहाँको भनाई छ ।
This website uses cookies.