काठमाडौं ।
सरकारले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गर्दैछ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बोलकबोलमार्फत ६ वर्ष अवधिको विकास ऋणपत्र–२०८९ बिक्री गर्न लागेको हो ।कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार विकास ऋणपत्र–२०८९ को कुल निष्कासन रकम १० अर्ब रुपैयाँ रहेको छ । ऋणपत्रको ब्याजदर भने बोलकबोल प्रक्रियामार्फत निर्धारण गरिनेछ ।ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था तथा कम्पनीले मंसिर ९ गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलकबोलमा सहभागी हुन सक्नेछन् । यसका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रणाली प्रयोग गर्नुपर्नेछ ।कुल निष्कासन रकममध्ये ८५ प्रतिशत अर्थात ८ अर्ब ५० करोड रुपैयाँ प्रतिस्पर्धी बोलदाताका लागि र १५ प्रतिशत अर्थात् १ अर्ब ५० करोड रुपैयाँ अप्रतिस्पर्धी बोलदाताका लागि छुट्याइएको छ ।प्रतिष्पर्धी बोलदाताले आफूले खरिद गर्न चाहेको रकम र प्रश्तावित ब्याजदर उल्लेख गर्नुपर्नेछ । अप्रतिष्पर्धी बोलदाताले भने खरिद गर्न चाहेको रकम मात्र उल्लेख गरे पुग्नेछ । उनीहरूलाई प्रतिष्पर्धी बोलकबोलबाट निर्धारण भएको एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइनेछ । ऋणपत्रको निष्कासन मिति मंसिर १० गते तोकिएको छ भने साँवा भुक्तानी २०८९ मंसिर १० गते हुनेछ ।
ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिनेछ र ब्याजमा आयकर लाग्नेछ ।ऋणपत्र खरिदका लागि न्यूनतम पाँच लाख रुपैयाँ तोकिएको छ । खरिद रकम पाँच लाख रुपैयाँले भाग गर्दा निःशेष भाग जाने हुनुपर्नेछ । नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाबाहेकका बोलदाताले आफूले खरिद गर्न चाहेको रकमको २.५० प्रतिशत बराबरको अनेस्ट मनी जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ ।उक्त विकास ऋणपत्र धितो राखेर कर्जा लिन तथा दिन सकिनेछ । साथै, यसको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) तथा डीओएमएस मार्फत गर्न सकिने कार्यालयले जनाएको छ ।ऋणपत्र बिक्रीमार्फत सरकारले आन्तरिक स्रोतबाट सार्वजनिक वित्त व्यवस्थापनका लागि आवश्यक रकम परिचालन गर्नेछ ।
This website uses cookies.