नागरिकता भएर पनि बैंक खाता र सिमकार्ड खोल्न समस्या, नेपाली महिलामाथि शोषण, म्यानपावर ठगी र असुरक्षित यातायातको मार
भारतमा वर्षौंदेखि बसोवास गर्दै आएका नेपालीहरू आफ्नै देशको नागरिकता बोकेर पनि विदेशी भूमिमा आफ्नो पहिचान लुकाउन बाध्य छन् ।
बैंक खाता खोल्नेदेखि सिमकार्ड लिनेसम्मका झन्झट, रोजगारीका नाममा ठगी, महिला तथा बालबालिकामाथि हुने शोषण, असुरक्षित यातायात र उपचारका क्रममा आर्थिक संकटजस्ता समस्याले उनीहरूलाई पिरोलिरहेको छ । भारतमा लाखौँ नेपाली रहेको अनुमान गरिए पनि उनीहरूको यकिन तथ्याङ्क र अवस्थाबारे राज्यसँग व्यवस्थित अभिलेख छैन । वर्षौंदेखि भोग्दै आएका यी समस्या सुनाउँदै प्रवासी नेपालीहरूले अब पहिचान, सुरक्षा र सामाजिक सुरक्षाको प्रत्याभूति हुनेगरी नेपाल सरकारले भारतसँग कुटनीतिक पहल गर्नुपर्ने माग गरेका छन् । भारतको राजधानी नयाँदिल्लीमा लामो समयदेखि बस्दै आएका नेपालीहरूले नेपाल सरकारसँग आफ्ना समस्या समाधानका लागि प्रभावकारी कुटनीतिक पहल गर्न माग गरेका छन् । उनीहरूले भारतमा रहेका नेपालीको व्यवस्थित तथ्याङ्क सङ्कलन, नेपाली नागरिकताको सहज पहिचान र त्यसकै आधारमा आधारभूत सेवा प्राप्त गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । अर्घाखाँची घर भई लामो समयदेखि दिल्लीमा बस्दै आउनुभएका विजय भुसालले भारतमा नेपालीको पहिचान नै प्रमुख समस्या बनेको बताउनु भयो । उहाँकाअनुसार भारतमा नेपाली भएको पहिचान खुलाउँदा हेपिनुपर्ने डरले धेरै नेपालीले आफ्नो वास्तविक परिचय लुकाएर बस्नुपर्ने अवस्था छ । उहाँ आफैँले पनि लामो समयसम्म आफ्नो नेपाली पहिचान लुकाएर बस्नुपरेको अनुभव सुनाउनु भयो । उहाँले नेपाली नागरिकताकै आधारमा भारतमा बैंक खाता खोल्न, सिमकार्ड लिन र अन्य आवश्यक सेवा प्राप्त गर्न सक्ने व्यवस्था हुनुपर्ने माग गर्नुभयो । नेपाली नागरिकता ठूलो पहिचान भए पनि भारतमा त्यसको व्यावहारिक उपयोग हुन नसकेको उहाँको गुनासो छ ।
भुसालले भारतमा रहेका नेपालीको सङ्ख्याबारे यकिन तथ्याङ्कसमेत नरहेको भन्दै नेपाल र भारत दुवै सरकारले संयुक्त रूपमा अभिलेख तयार गर्नुपर्ने बताउनु भयो । खुला सीमाको अभ्यासलाई कायम राख्दै सीमा आवागमन गर्ने नेपालीको विवरण कम्प्युटर प्रणालीमा राख्नसके उनीहरूको पहिचान र अवस्थाबारे जानकारी लिन सहज हुने उहाँको भनाइ छ । उहाँले विगतमा नेपाली दुतावासमा पटक–पटक समस्या राख्दा पनि सुनुवाई नभएको अनुभव सुनाउँदै अहिलेको सरकारले भने केही काम गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।
भुसालकाअनुसार नेपाल–भारतमैत्री बसको नाममा सञ्चालित कतिपय बसले नेपाल सरकारबाट आवश्यक अनुमति नलिई यात्रु ओसारपसार गर्ने गरेका छन् । यात्रुलाई सीमासम्म पु¥याएर त्यहाँ अर्को एजेन्ट वा कम्पनीको जिम्मा लगाउने र पुनः अर्को बसबाट गन्तव्यतर्फ पठाउने प्रवृत्तिले यात्रु समस्यामा पर्ने गरेका छन् ।
एउटै सिट नम्बर विभिन्न एजेन्सीले विक्री गर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने र सुरक्षा मापदण्ड पूरा नगरी बस सञ्चालन गर्ने गरिएको उहाँको भनाइ छ । यसले यात्रुको सुरक्षामाथि गम्भीर जोखिम निम्त्याएको उहाँले बताउनु भयो ।
विशेषगरी चाडपर्वका समयमा यात्रुको चाप बढ्दा भाडा असुली, सिटको दोहोरो बिक्री र क्षमताभन्दा बढी यात्रु राख्ने समस्या थप बढ्ने गरेको छ । बसमा आगलागी वा अन्य दुर्घटना हुँदा यात्रु तत्काल बाहिर निस्कन नसक्ने अवस्था सिर्जना हुनसक्ने भन्दै उहाँले यातायात सेवाको नियमित अनुगमन र नियमन गर्न माग गर्नुभयो ।
म्यानपावरको प्रलोभनदेखि मानव बेचबिखनसम्म
भारतमा नेपालीहरूले भोगिरहेको अर्को गम्भीर समस्या रोजगारीको प्रलोभनमा हुने ठगी र महिला तथा बालबालिकाको शोषण हो । पाल्पा घर भई दिल्लीमा बस्दै आउनुभएका तेजराम न्यौपानेले नेपालबाट भारत आउने क्रममा धेरै नेपाली म्यानपावर तथा दलालको ठगीमा पर्ने गरेको बताउनु भयो । उहाँकाअनुसार विदेशमा राम्रो रोजगारी दिलाउने भन्दै विभिन्न प्रलोभन देखाएर भारत ल्याउने र यहाँ पुगेपछि पैसा लिएर सम्पर्कविहीन हुने प्रवृत्ति बढेको छ । यस्ता घटनाबारे पर्याप्त रूपमा सार्वजनिक चर्चा हुन नसकेको उहाँको भनाइ छ । न्यौपानेले भारतमा रोजगारीका अवसर र प्रतिष्पर्धाबीच नेपालीले आफ्नो क्षमता, सीप र कार्यक्षमताका आधारमा स्थान बनाउनुपर्ने अवस्था रहेको बताउनु भयो । तर रोजगारीका लागि भारत आउने नेपालीको सबैभन्दा ठूलो समस्या कागजात र आर्थिक सुरक्षासँग जोडिएको उहाँको भनाइ छ ।
भारतमा उपचारका लागि आउने नेपालीले रकम भुक्तानी र बैंकिङ कारोबारमा समेत समस्या भोग्नुपरेको उहाँले बताउनु भयो । विशेषगरी क्यान्सरजस्ता गम्भीर रोगको उपचारका लागि आउने बिरामीलाई ठूलो रकम आवश्यक पर्ने भएपनि नेपालबाट भारतीय रुपैयाँ पठाउन सहज नहुँदा समस्या हुने गरेको उहाँको अनुभव छ । त्यसका लागि निश्चित अवधिका लागि अस्थायी बैंक खाता खोल्ने र आवश्यक रकम जम्मा तथा झिक्न सक्ने व्यवस्था गर्न उहाँले सरकारसँग आग्रह गर्नुभयो ।
कोठीबाट नेपाली चेलीको उद्धार गर्नुपर्ने अवस्था
अछाम घर भई दिल्लीमा काम गर्दै आउनुभएकी जानकी कडायतले नेपाली महिला तथा बालबालिका भारतमा विभिन्न प्रलोभनमा पारेर ल्याइने र उनीहरूलाई जोखिमपूर्ण अवस्थामा पु¥याइने गरेको बताउनु भयो । उहाँकाअनुसार एजेन्टहरूले नेपाली चेलीहरूलाई कामको प्रलोभन देखाएर भारत ल्याउने र कतिपयलाई कोठीमा पु¥याउने गरेका छन् । त्यहाँ पुगेपछि बाहिर निस्कनसमेत नदिने अवस्था रहेको उहाँले सुनाउनु भयो । कडायतले पछिल्लो एक वर्षमा मात्रै पाँच जना नेपाली महिलालाई कोठीबाट उद्धार गर्न सहयोग गरेको जानकारी दिनुभयो । उद्धार गरिएका महिलालाई प्रहरीको सहयोगमा परिवारसम्म पु¥याउन निकै कठिन हुने गरेको उहाँको अनुभव छ ।
नेपाल–भारत मैत्री बसका नाममा ठगी र यात्रुको सुरक्षा जोखिम
भारतमा रहेका नेपालीले भोगिरहेको अर्को समस्या नेपाल–भारत आवतजावत गर्ने बस सेवासँग सम्बन्धित छ । नेपालीको नाममा सञ्चालन भइरहेका कतिपय बसको आधिकारिक अभिलेख र अनुमति स्पष्ट नभएको तथा यात्रुलाई विभिन्न एजेन्टमार्फत अलपत्र पार्ने गरिएको गुनासो प्रवासी नेपालीहरूले गरेका छन् ।
अभिलेख र स्वास्थ्य बीमाको व्यवस्था गर्न माग
कञ्चनपुरको बेलौरी घर भई हाल दिल्लीमा बसोवास गर्दै आउनुभएका अर्जुन भण्डारीले भारतमा रहेका नेपालीको वास्तविक सङ्ख्या र अवस्थाको अभिलेख नहुँदा उनीहरूलाई आवश्यक पर्दा सहयोग पु¥याउन कठिन हुने गरेको बताउनु भयो । उहाँकाअनुसार रोजगारीका लागि केही महिना भारत आउने नेपाली अचानक बिरामी पर्दा वा मृत्यु हुँदा शव व्यवस्थापनदेखि परिवारसम्म सूचना पु¥याउनेसम्मका समस्या देखिने गरेका छन् । आर्थिक अवस्था कमजोर भएका नेपालीले उपचार खर्च जुटाउन नसक्दा थप पीडा भोग्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । भण्डारीले नेपाल र भारतबीचको खुला सीमालाई व्यवस्थित गर्दै दुवै देशले आवतजावत गर्ने नागरिकको तथ्याङ्क राख्नुपर्ने बताउनु भयो । यसरी सङ्कलित विवरणका आधारमा भारतमा रहेका नेपालीका लागि स्वास्थ्य बीमा तथा अन्य सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्न सकिने उहाँको सुझाव छ । उहाँले सामान्य रोजगारी गरेर जीविकोपार्जन गर्ने नेपालीलाई एकपटक बिरामी पर्दा ठूलो रकम खर्च गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै स्वास्थ्य बीमालाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गर्नुभयो ।
भारतमा रहेका नेपालीका समस्या समाधानका लागि नेपाल र भारत सरकारबीच कुटनीतिक समन्वय आवश्यक रहेको प्रवासी नेपालीहरूको निष्कर्ष छ । उनीहरूले नेपालीको पहिचान सुनिश्चित गर्ने, श्रमिकको अधिकार संरक्षण गर्ने, मानव बेचबिखन नियन्त्रण गर्ने, यातायात सेवा व्यवस्थित बनाउने तथा स्वास्थ्य र आर्थिक सुरक्षाको प्रत्याभुति गर्ने विषयमा सरकारले ठोस पहल गर्नुपर्ने माग गरेका छन् ।
उनीहरूकाअनुसार भारतमा रहेका नेपालीको वास्तविक तथ्याङ्क तयार पार्नु नै अधिकांश समस्या समाधानको पहिलो आधार बन्न सक्छ । तथ्याङ्कसहितको व्यवस्थित अभिलेख भए मात्रै विदेशमा रहेका नेपालीको अवस्था पहिचान गर्न, विपद् तथा स्वास्थ्य समस्यामा सहयोग पु¥याउन र आवश्यक सामाजिक सुरक्षा कार्यक्रम लागू गर्न सहज हुनेछ ।
This website uses cookies.