काठमाडौँ ।
भारतका लागि नेपालका नवनियुक्त राजदूत डा. निश्चलनाथ पाण्डेले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउनुभएको छ। उहाँले आजै नयाँदिल्लीस्थित बाह्रखम्बामा रहेको नेपाली राजदूतावासको कार्यालय पुगेर आफ्नो पदभारसमेत ग्रहण गर्नुभएको छ।भारतको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा नेपालसहित तीन देशका राजदूतबाट ओहोदाको प्रमाणपत्र ग्रहण गर्नुभएको हो। सो समारोहमा नेपालका राजदूत डा. पाण्डेसँगै ग्रीसका राजदूत जर्जियोस पेटमेजाकिस र स्पेनका राजदूत अल्फ्रेडो मार्टिनेज सेरानोले पनि ओहोदाको प्रमाणपत्र बुझाउनुभएको थियो। भारतको राष्ट्रपति कार्यालयले आजै जारी गरेको विज्ञप्तिमा डा. निश्चलनाथ पाण्डेलाई नेपालका राजदूतका रूपमा उल्लेख गर्दै उहाँले राष्ट्रपति मुर्मुसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेको जनाएको छ।ओहोदाको प्रमाणपत्र बुझाएलगत्तै राजदूत पाण्डे नयाँदिल्लीस्थित बाह्रखम्बामा रहेको नेपाली राजदूतावास पुग्नुभएको थियो। उहाँले दूतावासको कार्यालयमा पुगेर औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हाल्नुभएको हो। डा. पाण्डेले गत मंगलबार नयाँदिल्ली पुगेर आफ्नो कूटनीतिक जिम्मेवारी सम्हाल्ने प्रक्रिया अघि बढाउनुभएको थियो। उहाँले नयाँदिल्ली पुगेको करिब ४८ घण्टाभित्रै भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउनुभएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले गत मंसिर १ गते मन्त्रिपरिषद्को सिफारिसमा डा. पाण्डेलाई भारतका लागि नेपालको राजदूत नियुक्त गर्नुभएको थियो। सोही दिन उहाँले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको थियो। भारतका लागि नेपालको राजदूतका रूपमा उहाँको नियुक्ति र जिम्मेवारी ग्रहणसँगै नेपाल–भारतबीचको कूटनीतिक सम्बन्धलाई थप प्रभावकारी बनाउने, उच्चस्तरीय राजनीतिक संवादलाई निरन्तरता दिने तथा द्विपक्षीय सहयोगका विविध विषयलाई अघि बढाउने जिम्मेवारी उहाँको काँधमा आएको छ।प्रधानमन्त्री बालेन्द्र शाहको आगामी नोभेम्बर २२ देखि हुने भनिएको भारत भ्रमणको तयारीका सन्दर्भमा पनि नयाँ राजदूतको जिम्मेवारी ग्रहणलाई कूटनीतिक दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।नेपाल र भारतबीच राजनीतिक, आर्थिक, व्यापारिक, ऊर्जा, पूर्वाधार, पारवहन तथा जनस्तरको सम्बन्धका विविध आयाम रहेकाले ती विषयमा सहकार्य र संवादलाई थप सुदृढ बनाउनु राजदूत पाण्डेका प्रमुख कार्यभार हुनेछन्।
This website uses cookies.