काठमाडौँ ।
काठमाडौं महानरगपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदुषण नियन्त्रणका लागि गृहकार्य भइरहेको बताउनुभएको छ । बिहीवार राजधानीमा जलवायु कार्य सप्ताहबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जाडोयाम बढेसँगै काठमाडौं उपत्यकामा वायु प्रदुषण समेत बढ्दै जाने उल्लेख गर्दै यसको नियन्त्रणको कार्ययोजना निर्माणको गृहकार्य भइरहेको बताउनु भयो । उक्त कार्ययोजना यही मंसिर ७ गतेदेखि शुरु हुने जलवायु कार्य सप्ताहमा सार्वजनिक गरिने उहाँले बताउनु भयो । बिहीवार काठमाडौं विश्वकै तेस्रो धेरै वायु प्रदुषित शहरको सूचीमा रहेको उल्लेख गर्दै उहाँले यस्तो अवस्था मानव स्वास्थ्यका लागि चिन्ताजनक विषय भएको बताउनुभयो । उहाँले काठमाडौं उपत्याको वायु प्रदुषण नियन्त्रणका लागि छिमेकी स्थानीय तहहरु, प्रदेश र संघ सरकारसँगको समन्वय र सहकार्य गरिने बताउनु भयो ।
साथै, उहाँले जलवायु परिवर्तन न्युनिकरण तथा अनुकूलनका उपायबारे सरोकारवालाहरुसँग छलफल गरेर निचोड निकाल्न जलवायु कार्य सप्ताहको आयोजना गर्न लागिएको जानकारी दिनुभयो । जलवायु परिवर्तनका क्षेत्रमा तत्काल गर्न सकिने काम पहिचान गरी कार्यान्वयनका उपाय तय गर्न उक्त सप्ताह महत्वपूर्ण हुने डंगोलको भनाइ छ । उहाँले ‘रिचार्ज काठमाडौं’ अभियान पनि सँगसँगै अघि बढाइने बताउनु भयो ।जलवायु परिवर्तनका स्थानीय असर घटाउन तथा अनुकूलनका लागि स्थानीय तहमा सामूहिक प्रयास, सहकार्यको थालानी गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाको आयोजनामा मंसिर ७ गतेदेखि १३ गतेसम्म ‘काठमाडौँ जलवायु कार्य सप्ताह आयोजना हुँदैछ ।
This website uses cookies.