राजनीति

एमाले भेलामा अपरिचित व्यक्तिको प्रवेशप्रति ओलीको चासो, स्वयंसेवकलाई शतर्क रहन निर्देशन

काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको राष्ट्रिय भेलामा अपरिचित व्यक्तिहरूको प्रवेश र सुरक्षा व्यवस्थापनप्रति चासो व्यक्त गर्नुभएको छ ।
बिहीवार काठमाडौंमा आयोजित राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै उहाँले कार्यक्रमस्थलमा कसले प्रवेश गरिरहेको छ र को कहाँसम्म पुगिरहेको छ भन्ने विषयमा स्वयंसेवकहरू सचेत हुनुपर्ने बताउनुभएको हो । ओलीले आफूहरू बसिरहेको स्थानसम्म एक अपरिचित व्यक्ति आएर पत्र बुझाएको प्रसंग सुनाउँदै सुरक्षा व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । ती व्यक्तिले आफूलाई सामान्य नेपाली मतदाता भएको बताएको उल्लेख गर्दै उहाँले कार्यक्रमस्थलमा अपरिचित व्यक्तिको सहज पहुँच हुन नहुने बताउनु भयो । पार्टीका नेता तथा प्रतिनिधिहरूलाई भेट्न नचिनेका व्यक्तिहरू सहजै पुग्दा महत्वपूर्ण समय खेर जाने भन्दै उहाँले स्वयंसेवकहरूलाई प्रवेश व्यवस्थापन चुस्त बनाउन निर्देशन दिनुभयो । उहाँले भेलामा सहभागी सबै नेता तथा कार्यकर्तालाई परिचयपत्र लगाउन पनि आग्रह गर्नुभयो । परिचयपत्रले सहभागीको पहिचान स्थापित गर्ने र स्वयंसेवक तथा सुरक्षाकर्मीलाई व्यक्ति चिनाउन सहज हुने उहाँको भनाइ छ । बैठकका बेला अनावश्यक कुराकानी नगर्न र पूर्ण शान्त वातावरण कायम गर्न पनि ओलीले निर्देशन दिनुभयो । भेटघाट र कुराकानीका लागि खाना, खाजा तथा विश्रामको समय उपयोग गर्न आग्रह गर्दै उहाँले राष्ट्रिय भेलालाई अनुशासित कार्यक्रमका रूपमा सम्पन्न गर्नुपर्ने बताउनु भयो ।

ओलीले निर्धारित समयभित्र कार्यक्रम सम्पन्न गर्नेगरी अनुशासित भएर अघि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

Related Post
Share

This website uses cookies.