काठमाडौँ ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा अदालतले आफ्नो संवैधानिक दायित्व पूरा गर्न नसकेको आरोप लगाउनुभएको छ ।पार्टीको राष्ट्रिय भेलाको शुभारम्भ कार्यक्रममा उहाँले गतवर्ष असंवैधानिक ढंगले सरकार विस्थापित गरिएपछि अनधिकृत व्यक्तिको सिफारिसमा प्रतिनिधि सभा विघटन गरिएको दाबी गर्नुभयो । मन्त्रिपरिषद्को सिफारिसबिना व्यक्तिको एकल सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने कार्य संविधानविपरित भएको उहाँको जिकिर छ । विगतमा प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा अदालतबाट भएका फैसलालाई आफूहरूले स्वीकार गर्दै आएको भएपनि यसपटकको विघटनसम्बन्धी मुद्दामा अदालतको भूमिका सन्तोषजनक नरहेको उहाँले बताउनु भयो ।उहाँले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा अझै अदालतमा विचाराधीन रहेको उल्लेख गर्नुभयो । हाल राज्यका अंग तथा निकायहरू आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्न सक्ने अवस्थामा नरहेको उहाँको भनाई छ । उहाँले देशलाई लोकतान्त्रिक मार्गमा फर्काउन तथा राष्ट्रिय अस्मिता, स्वतन्त्रता, स्वाधीनता, स्वाभिमान र सम्मानको रक्षा गर्न नेपाली जनता अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले जनतालाई धोका दिएर, झुक्याएर जेन–जी विद्रोहको नाममा राज्य संयन्त्र कब्जा गरेको आरोप लगाउनु भयो ।
This website uses cookies.