काठमाडौँ ।
नेपाल मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकालले हाल बंगालको खाडीमा विकसित भइरहेको न्युनचापीय प्रणालीले नेपालमा प्रभाव नपार्ने बताउनुभएको छ ।
आईतवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले बंगालको खाडीमा विकसित न्युनचापीय क्षेत्र गहिरो न्युनचापीय प्रणालीमा परिणत हुँदै चक्रवात बन्ने दिशामा अघि बढिरहेको भएपनि त्यसले नेपालमा असर नगर्ने बताउनुभएको हो । हालसम्मको मौसमी विश्लेषणअनुसार उक्त प्रणालीले नेपालको मौसममा उल्लेखनीय प्रभाव पार्ने सम्भावना नरहेको उहाँले जानकारी दिनुभयो । विभागले उक्त प्रणालीको अवस्था, सम्भावित मार्ग र दिशा निरन्तर अनुगमन गरिरहेको उहाँको भनाई छ । यसको मार्गमा परिवर्तन आएर नेपालमा प्रभाव पर्ने अवस्था देखिए विभागले आवश्यक जानकारी गराउने उहाँले बताउनु भयो । उहाँकाअनुसार हाल नेपालमा उक्त प्रणालीका कारण ठूलो वर्षा वा लगातार झरी पर्ने सम्भावना देखिएको छैन ।
उहाँले आईतवार भने मुख्यतः हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको बताउनु भयो । पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना देखिएको उहाँको भनाई छ । दुई प्रदेशका धेरै स्थानमा वर्षा हुनसक्ने भएपनि भारी वर्षाको सम्भावना भने नरहेको उहाँले बताउनु भयो । उहाँकाअनुसार गण्डकी र कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा र लुम्बिनी प्रदेशका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको छ । वागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मात्रै वर्षा हुनसक्ने विभागको अनुमान छ । आईतवार बेलुकादेखि पश्चिमी न्युनचापीय प्रणाली कमजोर हुँदै जाने र वर्षाका गतिविधि क्रमशः घट्ने उहाँले जानकारी दिनुभयो । आगामी दुई दिन वर्षाका गतिविधि न्यून रहने र त्यसपछिका पाँच दिनसम्म पनि वर्षाको सम्भावना क्रमशः घट्दै जाने पूर्वानुमान रहेको उहाँले बताउनु भयो ।
मौसमको पूर्वानुमानमा ध्यान दिन किसानलाई सुझाव
मौसमविद् ढकालले धान काट्ने समय चलिरहेकाले मौसमको पूर्वानुमानमा ध्यान दिन किसानहरुलाई सुझाव दिनुभएको छ ।
आईतवार दिउँसोतिर हुने वर्षाले काटेर राखिएको धानमा असर पार्नसक्ने भएपनि खेतमै रहेको नकाटिएको धानबालीमा भने असर नपार्ने उहाँले बताउनु भयो । कृषि तथा अन्य व्यावसायिक गतिविधिको कार्यतालिका बनाउनुअघि आगामी दिनको मौसमबारे जानकारी लिनु उपयुक्त हुने उहाँको सुझाव छ ।
This website uses cookies.