राजनीति

सुशासनमा रास्वपाले सम्झौता गर्दैन, दोषी जो भएपनि उन्मुक्ति पाउँदैनः रास्वपा

काठमाडौँ ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले सुशासनका विषयमा पार्टीले कुन पनि सम्झौता नगर्ने बताउनुभएको छ ।
सार्वजनिक भएका विभिन्न विवादित घटनामा निष्पक्ष छानबिन हुनुपर्ने र दोषी जोसुकै भएपनि कारबाहीको दायरामा आउनुपर्ने उहाँको भनाइ छ । आईतवार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आचार्यले रास्वपाको उदय नै सुशासनलाई पार्टीको आधारभूत मूल्यका रूपमा स्थापित गरेर भएको बताउनु भयो । उहाँले पार्टीभित्र वा पार्टीभन्दा बाहिर जुनसुकै क्षेत्रमा सुशासनसँग सम्बन्धित प्रश्न उठे पनि रास्वपाले त्यसमा सम्झौता नगर्ने स्पष्ट पार्नुभयो । आचार्यले राज्यका संस्थागत संरचना व्यक्तिभन्दा सधैँ माथि रहने मान्यतामा पार्टी विश्वास गर्ने पनि बताउनु भयो । कुनैपनि व्यक्ति वा पदभन्दा राज्यका संस्थाहरू महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले सार्वजनिक भएका घटनामा कसैको दोष देखिए त्यसको निष्पक्ष निरुपण हुनुपर्ने धारणा राख्नुभयो । उहाँले त्यस्ता विषयको निष्पक्ष छानबिन गर्न प्रधानमन्त्री र सरकार सक्षम रहेको उल्लेख गर्दै आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सरकारलाई पार्टीको समर्थन रहने बताउनु भयो । पछिल्लो समय सार्वजनिक भएका विवादित विषयमा पार्टीले तत्कालै आधिकारिक धारणा सार्वजनिक नगर्नुको कारणबारे स्पष्ट पार्दै आचार्यले सञ्चारमाध्यममा समाचार आएकै आधारमा पार्टीले आवेगमा निर्णय गर्न नमिल्ने बताउनु भयो । उहाँकाअनुसार हरेक विषयको आफ्नै प्रक्रिया हुने भएकाले आवश्यक प्रक्रिया पूरा नभएसम्म पार्टीले हतारमा निष्कर्ष निकाल्नु उचित हुँदैन । त्यसो गर्दा व्यक्ति र संस्थाबीचको भिन्नतासमेत धुमिल हुनसक्ने उहाँको भनाइ छ ।

आचार्यले निष्पक्ष छानबिनबाट दोषी ठहरिने व्यक्ति जोसुकै भएपनि कारबाहीबाट उन्मुक्ति नपाउने दाबी गर्नुभयो ।

Related Post
Share

This website uses cookies.