टर्कीको तटीय सहर अन्टाल्यामा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप–३१) का क्रममा चीन, टर्की र इथियोपियाले अन्तर्राष्ट्रिय कार्बन क्रेडिट बजारमा सहकार्य विस्तार गर्ने संयुक्त पहल सुरु गरेका छन्। तीन देशले चीन पेभिलियनमा आयोजित विशेष समारोहबीच उक्त पहल सार्वजनिक गरेका हुन्। कार्यक्रममा सरकारी अधिकारीका साथै संयुक्त राष्ट्रसङ्घ र विश्व बैंकलगायत अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरू सहभागी थिए। चीनका पारिस्थितिकी तथा वातावरण उपमन्त्री ली गाओले निष्पक्षता, समावेशिता र स्वैच्छिक सहभागिताका सिद्धान्तमा आधारित यो पहल विश्वव्यापी रूपमा खुला रहेको बताउनुभयो। यसले अन्तर्राष्ट्रिय कार्बन क्रेडिट बजारको गुणस्तर अभिवृद्धि तथा दीर्घकालीन स्थायित्व प्रवर्द्धन गर्ने उहाँको भनाइ थियो। ‘जलवायु कार्यलाई सहयोग पुग्ने नयाँ विश्वव्यापी सार्वजनिक हितको व्यवस्था निर्माण गर्न हामी सरकार, अन्तर्राष्ट्रिय संस्था र सम्बन्धित निकायहरूलाई यस पहलमा सहभागी हुन स्वागत गर्दछौँ’, लीले भन्नुभयो।
तीन देशद्वारा सार्वजनिक गरिएको संयुक्त दस्तावेजमा कार्बन क्रेडिट प्रणालीले उत्सर्जन न्यूनीकरणका स्रोतसाधनको प्रभावकारी परिचालन, जलवायु वित्त प्रवाह र हरित विकासका नयाँ सम्भावना विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिएको छ। उक्त पहलले उच्च विश्वसनीयतायुक्त कार्बन क्रेडिटको विकास र उपयोग सुनिश्चित गर्न सरकार तथा अन्तरसरकारी निकायहरूलाई आफ्नो नियामकीय र संस्थागत व्यवस्था सुधार गर्न आह्वान गरेको छ। साथै, कार्बन क्रेडिटसम्बन्धी विभिन्न प्रणाली र बजारका सहभागीबीच सहकार्य बढाएर विश्वसनीय कार्बन क्रेडिटको आपूर्ति विस्तार गर्न पनि जोड दिएको छ। यसले कार्बन क्रेडिटको जिम्मेवार प्रयोगमार्फत प्रभावकारी बजार माग सिर्जना गर्न तथा अन्तर्राष्ट्रिय सहकार्य, सूचनाको आदानप्रदान र विभिन्न देशका कार्बन बजारसम्बन्धी पूर्वाधारबीच अन्तरसम्बन्ध विस्तार गर्न पनि आग्रह गरेको छ। टर्कीका वातावरण, सहरीकरण तथा जलवायु परिवर्तन उपमन्त्री फात्मा भाराङ्कले यस पहलले विकासशील अर्थतन्त्रहरूलाई दक्षिण–दक्षिण सहकार्यका माध्यमबाट आपसी सम्बन्ध र साझेदारी सुदृढ गर्ने अवसर प्रदान गर्ने बताउनुभयो। उहाँले विकासशील देशहरूको नेतृत्वमा अघि बढाइएका कार्बन बजारसम्बन्धी पहल विशेष महत्त्वका हुने उल्लेख गर्नुभयो। ‘कार्बन बजारसम्बन्धी विभिन्न पहल भइरहेका छन्। तर विकासशील देशहरूले स्थापना गरेका पहलहरू विशेष रूपमा मूल्यवान् छन्। विकसित देशहरूले आफ्नो अनुभव र विशेषज्ञता विकासशील देशहरूसँग बाँड्नु अझ महत्त्वपूर्ण हुन्छ’, उहाँले भन्नुभयो।
विकसित देशका लागि कार्बन बजार स्थापना र सञ्चालन तुलनात्मक रूपमा सहज भए पनि विकासशील देशहरूका लागि यो प्रक्रिया निकै चुनौतीपूर्ण रहेको उहाँको भनाइ थियो। औद्योगिक उत्सर्जन घटाउन आवश्यक प्राविधिक क्षमता, दक्ष जनशक्ति र वित्तीय स्रोतको अभाव विकासशील देशका प्रमुख समस्या रहेको उहाँले बताउनुभयो। इथियोपियाको कोप–३२ अध्यक्षता तयारीका प्रमुख रणनीतिकार सेलाम किदाने अबेबेले चीनले प्रस्ताव अघि सार्दै सहभागी देशहरूलाई एकै ठाउँमा ल्याएकोमा चिनियाँ सरकारप्रति आभार व्यक्त गर्नुभयो। चीन तथा अन्य साझेदार देशसँग मिलेर यस पहलको सहप्रायोजन र सुरुवात गर्न पाउँदा इथियोपिया खुसी रहेको उल्लेख गर्दै उहाँले जलवायु समाधानका क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य सुदृढ गर्न यो महत्त्वपूर्ण मञ्च बन्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी ब्राजिलको अर्थ मन्त्रालयअन्तर्गत कार्बन बजारसम्बन्धी विशेष सचिव क्रिस्टिना राइसले विश्वव्यापी तापक्रमलाई जोखिमपूर्ण तहमा पुग्नबाट रोक्न प्रभावकारी कार्बन मूल्य निर्धारण प्रणाली आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार कार्बन मूल्य निर्धारणले कम्पनीहरूलाई हरितगृह ग्यास उत्सर्जन घटाउन तथा वायुमण्डलबाट कार्बन हटाउने गतिविधिमा लगानी गर्न प्रोत्साहन गर्छ। ‘कार्बन मूल्य निर्धारण प्रणाली तापक्रम वृद्धि रोक्न महत्त्वपूर्ण छ। यसले कम्पनीहरूलाई उत्सर्जन न्यूनीकरण र कार्बन निष्कासनका गतिविधिमा प्रोत्साहन दिन्छ’, राइसले भन्नुभयो।
चीन, इथियोपिया र टर्कीले सुरु गरेको उच्च विश्वसनीयतायुक्त कार्बन क्रेडिट प्रणाली प्रवर्द्धन गर्ने पहलले स्वैच्छिक कार्बन बजारबारे अन्तर्राष्ट्रिय छलफललाई थप प्रभावकारी बनाउने उहाँको भनाइ थियो। यसले अनिवार्य कार्बन बजारसम्बन्धी खुला गठबन्धनसँग पनि सहकार्यका सम्भावना सिर्जना गर्ने उल्लेख गर्दै उहाँले दुवै प्रणालीबीच दोहोरोपन हुन नदिन र एकअर्काका प्रयासलाई पूरक बनाउन आवश्यक रहेको बताउनुभयो। सोमबारदेखि सुरु भएको कोप–३१ सम्मेलन नोभेम्बर २० अर्थात् मङ्सिर ४ गतेसम्म सञ्चालन हुनेछ। सम्मेलनमा करिब २०० देश तथा क्षेत्रका प्रतिनिधिहरू सहभागी छन्।
This website uses cookies.