देश/समाज

शहरको समृद्धि अग्ला भवनले होइन, कला र संस्कृतिले मापिन्छः कार्यवाहक प्रमुख डंगोल

काठमाडौं ।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले अग्ला भवन र चिल्ला गाडीहरूले मात्र कुनैपनि शहर समृद्ध बन्न नसक्ने बताउनुभएको छ । कला, संस्कृति, भाषा, साहित्य र सिर्जनात्मक क्रियाकलापले मात्र शहरलाई जीवन्त बनाउने उहाँले बताउनुभएको हो । महानगरपालिकाको आफ्नै आयोजनामा पहिलोपटक शुरु भएको ‘काठमाडौं फिल्म फेस्टिभल २०२६’ को उद्घाटन गर्दै उहाँले काठमाडौं परापूर्वकालदेखि नै कथाहरूमा बाँचेको सांस्कृतिक शहर भएको उल्लेख गर्नुभयो । काठमाडौं महानगरपालिकाले युनेस्को ‘क्रिएटिभ सिटी अफ फिल्म’ सञ्जालमा सूचीकृत भएपछि पहिलोपटक आफ्नै प्रत्यक्ष आयोजनामा अन्तर्राष्ट्रिय स्तरको फिल्म फेस्टिभल शुरु गरेको हो । ऐतिहासिक वसन्तपुर क्षेत्रमा आयोजित हेरिटेज वाक, परम्परागत बाजागाजा र सांस्कृतिक प्रदर्शनीसँगै महोत्सवको औपचारिक शुरुवात गरिएको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले परम्परागत डबली नाच, द्यः प्याखँ, कात्तिक नाच र नवदुर्गा नाचको माध्यमबाट शताब्दीऔँदेखि यहाँका समुदायले कथा भन्दै आएको स्मरण गराउनु भयो । आधुनिक युगमा ती ऐतिहासिक कथा र भावनालाई ठूलो पर्दा (सिनेमा) को माध्यमबाट विश्वसामु प्रश्तुत गर्न महानगरले महोत्सवको शुरुवात गरेको उहाँले बताउनु भयो । चलचित्रले समाजलाई एकै ठाउँमा ल्याउने र मानिसको चेतनामा गहिरो छाप छोड्ने अतुलनीय शक्ति राख्ने चर्चा गर्दै उहाँले सिनेमा समाज जोड्ने बलियो माध्यम भएको तर्क गर्नुभयो । काठमाडौं महानगरपालिकाले यसअघि अन्य विभिन्न चलचित्र महोत्सवलाई सहयोग पु¥याउँदै आएको भएपनि आफ्नै मौलिक पहिचान झल्काउने आत्मनिर्भर र दिगो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव निर्माण गर्ने उद्देश्यले यो कदम चालिएको डंगोलले प्रष्ट पार्नुभयो । विश्वभरिका प्रतिष्ठित सहरहरूसँगको सांस्कृतिक साझेदारीलाई सदुपयोग गर्दै यस महोत्सवलाई अन्तर्राष्ट्रिय ब्राण्ड बनाउने लक्ष्य लिइएको छ । कवि भूपि शेरचनको प्रसिद्ध कविता ‘साँघुरो गल्लीमा मेरो चोक छ, यहाँ के छैन ? सबथोक छ’ स्मरण गर्दै उहाँले काठमाडौंका साँघुरा गल्ली, चोक र ननीहरूमा अथाह कला, संस्कृति, सपना र सकारात्मक सम्भावना रहेको बताउनु भयो । उहाँले महोत्सवलाई सफल बनाउन सम्पूर्ण नागरिक, स्रष्टा र चलचित्रकर्मीहरूलाई आह्वान समेत गर्नुभयो ।

Related Post
Share

This website uses cookies.