देश/समाज

वर्षाको सम्भावना देखिँदैमा आत्तिनुपर्ने अवस्था छैन, जोखिमयुक्त क्षेत्रमा सचेत भने रहनुपर्छः वरिष्ठ मौसमविद् विभूति पोखरेल

काठमाडौं ।

बंगालको खाडीमा विकसित भइरहेको चक्रवातको अवशेष नेपालतर्फ अघि बढ्ने सम्भावनासँगै देशका विभिन्न स्थानमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम देखिएको छ । नेपाल मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलकाअनुसार उक्त प्रणालीले पर्याप्त जलवाष्प बोकेर आउने र माथिल्लो वायुमण्डलको प्रणालीसँग मिसिने भएकाले नेपालमा वर्षा हुने सम्भावना छ । पोखरेलकाअनुसार बिहीवार बेलुकादेखि शनिवारसम्म उक्त प्रणालीको प्रभाव रहने प्रारम्भिक पूर्वानुमान गरिएको छ । यद्यपि, प्रणाली बंगालको खाडीमै रहेकाले यसको गति, तिब्रता र नेपाल प्रवेश गर्दाको अवस्थाअनुसार वर्षाको मात्रा तथा प्रभावमा परिवर्तन हुन सक्ने उहाँले बताउनु भयो । वर्षाको सम्भवना देखिएपनि आत्तिनुपर्ने अवस्था भने नरहेको उहाँको भनाई छ । तर जोखिमयुक्त क्षेत्रमा भने सचेतता अपनाउन आवश्यक रहेको उहाँले बताउनु भयो । हिमाली क्षेत्रमा पर्यटकीय गतिविधि गर्नेहरू बढी जोखिममा पर्न सक्ने भएकाले विशेष सावधानी अपनाउनुपर्ने उहाँको भनाई छ । वर्षासँगै उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात, हिमआँधी तथा हिमपहिरोको जोखिम रहन सक्ने उहाँले बताउनु भयो । सकेसम्म हिमाली क्षेत्रमा यात्रा नगर्न उहाँले सुझाव दिनुभयो । त्यस्तै, पहिरोको जोखिम भएका स्थान तथा सडकखण्डमा यात्रा गर्ने सर्वसाधारणलाई पनि शतर्कता अपनाउन उहाँले आग्रह गर्नुभयो । यस्तै धान काट्ने समय भएकाले वर्षाले कृषि क्षेत्रमा असर पार्न सक्ने उहाँको भनाई छ । विभागले जारी गर्ने मौसमसम्बन्धी सुचना हेरेर मात्रै धान काट्न पनि उहाँले किसानहरुलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मनसुन सकिएपछि अहिले हामी मनसुनपछिको सिजनमा छौँ । यो समयमा पनि वर्षा कसरी भयो भन्ने जिज्ञासा धेरैमा हुन्छ । यसलाई जलवायु परिवर्तनको प्रभावका रूपमा पनि हेरिएको हुनसक्छ । नेपालमा अक्टोबर–नोभेम्बर सामान्यतया मौसम राम्रो हुने समय हो । दसैँ–तिहारजस्ता ठूला चाडपर्व पनि यही समयमा पर्छन् । यद्यपि, बङ्गालको खाडी र अरब सागरमा चक्रवात विकसित हुने सिजन पनि यही हो । त्यहाँ विकसित भएका सबै चक्रवात वा न्यून चापीय क्षेत्र नेपालसम्म आइपुग्छन् भन्ने हुँदैन । तर, कुनै प्रणाली उत्तरतर्फ सर्दै नेपाल नजिक आइपुगेमा त्यसले वर्षा गराउन सक्छ । विशेषगरी, चक्रवात जमिनमा प्रवेश गरेपछि कमजोर हुँदै उत्तर वा उत्तरपश्चिमतर्फ सर्दा त्यसको प्रभाव नेपालमा पनि पर्न सक्छ । यस्तो प्रणालीले वर्षा गराउनुका साथै उच्च हिमाली क्षेत्रमा हिमपातसमेत गराउन सक्छ । यस्ता घटना यसअघि पनि भएका छन् । त्यसैले अहिले नै नयाँ घटना भयो भन्ने होइन । जलवायु परिवर्तनको सन्दर्भमा हामीले ध्यान दिनुपर्ने मुख्य कुरा यस्ता घटनाको आवृत्ति र तिब्रता हो । जलवायु परिवर्तनले नयाँ प्रकारका घटना मात्रै निम्त्याउने होइन, पहिले पनि हुने गरेका घटनाको आवृत्ति र तीव्रतामा समेत परिवर्तन ल्याउन सक्छ ।’
उहाँले मौसमसम्बन्धी जानकारीका लागि विभागका आधिकारिक सूचना तथा सामाजिक सञ्जालबाट जारी हुने अद्यावधिक हेर्न आग्रह गर्नुभयो । हल्लाको पछाडी लागेर त्रासमा नबस्न र हेलचेक्र्याई पनि नगर्न उहाँको सुझाव छ । आधिकारिक सूचना र पूर्वानुमानका आधारमा आफ्नो गतिविधि तय गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले मौसमसम्बन्धी जानकारीका लागि सम्बन्धित सरकारी निकायसंग समन्वय गरिरहेको पनि जानकारी दिनुभयो ।

Related Post
Share

This website uses cookies.