देश/समाज

चाडपर्वमा काठमाडौं उपत्यकामा रगत अभाव छैनः रक्तसञ्चार सेवा केन्द्र

काठमाडौं ।

नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्त सञ्चार सेवा केन्द्रले चाडपर्वको समयमा आकस्मिक दुर्घटनाका घाइते, प्रसूति सेवा तथा नियमित डायलासिस गराइरहेका बिरामीका लागि रगतको अभाव नरहेको बताएको छ । सोमवार न्युज एजेन्सीसँग कुरा गर्दै केन्द्रका प्रतिनिधि सञ्जीव यादवले हाल केन्द्रसँग रगतको अभाव नरहेको दाबी गर्नुभएको हो । उहाँले चाडपर्वको समयमा रगतको माग बढ्न सक्ने अवस्थालाई ध्यानमा राखेर यसअघि नै रक्तदान शिविर सञ्चालन गरी रगत संकलन गरिएको बताउनु भयो । यद्यपि नेगेटिभ समूहको रगतको माग आएमा व्यवस्थापनमा कठिनाइ हुने उहाँले बताउनु भयो । केन्द्रले नेगेटिभ समूहको रगत संकलन गरेर नराख्ने भएको कारण तत्काल उपलब्ध गराउन सकस पर्ने उहाँको भनाइ छ । उयादवका अनुसार दशैँका समयमा नियमित स्वास्थ्य सेवा प्रभावित हुन सक्ने भएपनि आकस्मिक उपचारका लागि आवश्यक पर्ने रगतको व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ । चाडपर्वमा सडक दुर्घटना, प्रसूति सेवा तथा नियमित डायलासिस गराइरहेका बिरामीलाई रगतको अत्यधिक आवश्यकता पर्ने भएकाले त्यस्ता अवस्थालाई सम्बोधन गर्न केन्द्रले पर्याप्त रगत सञ्चित गरेर राखेको उहाँले बताउनु भयो । सम्भावित आकस्मिक अवस्थालाई ध्यानमा राख्दै रगतको मौज्दात व्यवस्थापन गर्नुका साथै आवश्यक परेमा तत्काल ताजा रगत उपलब्ध गराउन सक्ने गरी थप रक्तदातासँग समेत समन्वय गरिएको उहाँको भनाइ छ ।

उहाँले आकस्मिक अवस्थामा रगतको माग बढेमा त्यसलाई सम्बोधन गर्न नियमित रक्तदातासँग सम्पर्क र समन्वय गरिएको पनि बताउनु भयो । उहाँले रगतको उपलब्धता अझै सहज बनाउन रक्तदान गर्न समेत आम नागरिकलाई अनुरोध गर्नुभयो । उहाँले चाडपर्वको समयमा सेवा प्रवाह प्रभावित नहोस् भनेर आवश्यक पर्ने जनशक्तिको संख्याका आधारमा नियमित रोस्टर तयार गरी काम भइरहेको समेत बताउनु भयो । हाल रगतको अभाव नरहे पनि आकस्मिक आवश्यकता जुनसुकै समयमा उत्पन्न हुनसक्ने भएकाले रक्तदान अभियानलाई निरन्तरता दिइएको उहाँको भनाइ छ ।

Related Post
Share

This website uses cookies.