राजनीति

श्रीलंकाका लागि प्रश्तावित राजदुत मञ्चलाकुमारी झाको कार्ययोजनाः पर्यटन, धर्म र कुटनीतिलाई प्राथमिकता

काठमाडौं ।

श्रीलंकाका लागि प्रश्तावित नेपाली राजदुत डा. मञ्चलाकुमारी झाले नेपाल र श्रीलंकाबीचको ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्बन्धलाई आर्थिक साझेदारीको ठोस नतिजामा बदल्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
संसदीय सुनुवाई समितिको बुधवारको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै झाले पर्यटन, रामायण सर्किट, बौद्ध सम्पदा र व्यापार प्रवद्र्धनलाई आफ्नो कार्यकालका चार मुख्य रणनीतिक स्तम्भका रूपमा अघि सार्नुभएको हो । प्रश्तावित राजदुत झाले दुई मुलुकबीचको सम्बन्धलाई थप सुदृढ बनाउन पञ्चशीलको सिद्धान्त र साझा सांस्कृतिक सम्पदालाई आधार मान्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनकपुरको रामायण परम्परा र लुम्बिनीको बौद्ध विरासतलाई श्रीलंकाली जनस्तरसँग जोड्न सकेमात्र कुटनीतिक उपलब्धि हासिल हुने बताउनु भयो । आफ्नो चारवर्षीय कार्यकालका लागि प्रश्तावित रणनीतिक कार्ययोजना प्रश्तुत गर्दै उहाँले पहिलो स्तम्भमा पर्यटन सम्पर्क र हवाई सञ्जाललाई राख्नुभयो । यसअन्तर्गत लुम्बिनी विमानस्थललाई लक्षित गरी श्रीलंकाबाट तीर्थयात्री भित्र्याउन सिधा वा चार्टर उडानको सम्भाव्यता खोजी गर्ने उहाँको योजना छ । दोस्रो स्तम्भमा ‘रामायण सर्किट’ र तेस्रोमा ‘बौद्ध सम्पदा’ प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ । चौथो स्तम्भमा व्यापार तथा लगानी प्रवद्र्धन, निजी क्षेत्रबीचको सहकार्य र श्रीलंकामा रहेका नेपालीको हित संरक्षणलाई समेटिएको छ ।
समितिको बैठकमा झाले नेपाल सरकारको नीति तथा कार्यक्रमलाई आत्मसात गर्दै ‘सबैसँग मित्रता, कसैसँग शत्रुता छैन’ भन्ने परराष्ट्र नीतिको मर्मअनुसार आफू अघि बढ्ने बताउनु भयो । उहाँले दुई देशबीचको साझा चुनौतीको रूपमा रहेको उच्च हवाई भाडा र सिमित प्रत्यक्ष सम्पर्कलाई समाधान गर्न दुवै पक्षका सरकारी तथा निजी क्षेत्रसँग समन्वय गर्ने खाकासमेत प्रश्तुत गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘नेपाल र श्रीलंकाबीचको प्राचीन सम्बन्ध बुद्ध दर्शन, धर्म, संस्कृति र साझा सभ्यतामा आधारित छ । सन् १९५७ अप्रिल १ मा कुटनीतिक सम्बन्ध स्थापना भएपछि दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप सुदृढ हुँदै आएको छ । नेपाल सरकारको नीति तथा कार्यक्रम र राष्ट्रिय हितलाई आत्मसात् गर्दै मेरो चारवर्षे कार्ययोजना चार प्रमुख स्तम्भमा केन्द्रित हुनेछ । पर्यटन तथा हवाई सम्पर्क विस्तार, रामायण सर्किट र सांस्कृतिक कुटनीतिको प्रवद्र्धन, बौद्ध सम्पदा तथा धार्मिक पर्यटनको विकास, व्यापार, लगानी र निजी क्षेत्रबीच सहकार्य रहेका छन् । यसका साथै श्रीलंकामा रहेका नेपाली नागरिकको हित संरक्षण, जनस्तरीय सम्बन्ध विस्तार र संस्थागत सहकार्यलाई प्राथमिकता दिनेछु । विशेषगरी, लुम्बिनी र कपिलवस्तुलाई श्रीलंकाली बौद्ध तीर्थयात्रीको प्रमुख गन्तव्य बनाउने, जनकपुर र श्रीलंकाका रामायणसँग सम्बन्धित स्थललाई साझा तीर्थाटनका रूपमा प्रवद्र्धन गर्ने तथा प्रत्यक्ष र चार्टर उडानको सम्भाव्यता अध्ययन गर्ने मेरो लक्ष्य हुनेछ । त्यसैगरी, संयुक्त पर्यटन प्याकेज, व्यापार मञ्च, लगानी प्रवद्र्धन र शैक्षिक तथा सांस्कृतिक आदानप्रदानमार्फत दुई देशबीचको सम्बन्धलाई थप परिणाममुखी बनाउनेछु ।’
समितिका सदस्यहरूसँगको अन्तरक्रियामा उहाँले आफूले तयार पारेको कार्ययोजना एक प्रारम्भिक खाका मात्र भएको र सांसदहरूको सुझावका आधारमा यसलाई थप परिष्कृत गर्दै लैजाने स्पष्ट पार्नुभयो ।

Related Post
Share

This website uses cookies.