काठमाडौं ।
नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले पार्टी औपचारिक रूपमा विभाजित भएको घोषणा गर्नुभएको छ । जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता निधीले विशेष महाधिवेशनले काँग्रेसलाई वैचारिक र सांगठनिक रूपमा दुई धारमा बाँडिदिएको भन्दै अब ‘नयाँ घर’ निर्माणको दिशामा अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको हो । नेता निधीले पार्टी विभाजनको मुख्य जिम्मेवार विशेष महाधिवेशन बोलाउने पक्ष नै रहेको आरोप लगाउनु भयो । उहाँले लोकतन्त्र भनेको केवल सिद्धान्त मात्र नभएर प्रक्रिया र पद्धति पनि भएको स्मरण गराउँदै बहुमतले मात्रै पार्टी नचल्ने तर्क गर्नुभयो । उहाँले निर्वाचन आयोगमा पेश गरिएको तथ्यांकलाई आधार मान्दै आफूहरूसँग ४६ प्रतिशतको बलियो आधार रहेको दाबी गर्नुभयो । ४६ प्रतिशतको मतलाई अवमूल्यन गरेर गरिएका निर्णयहरू अमान्य हुने उहाँको जिकिर छ । विशेष महाधिवेशन र त्यसपछि विकसित घटनाक्रमहरूले पार्टीलाई जोड्न नसक्ने भन्दै उनले अब नयाँ ढंगले पार्टी संगठनलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै निधीले कार्यकर्ताहरूलाई वार्ड तहबाटै नयाँ ऊर्जाका साथ खटिन निर्देशन दिनुभयो । युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्नेमा जोड दिँदै उहाँले आफ्नो आलोचना गर्नेहरूलाई जवाफ दिँदै आफू वैचारिक रूपमा अझै सक्रिय रहेको र पार्टी पुनर्निर्माणका लागि प्रतिवद्ध रहेको बताउनु भयो । निधीले कार्यकर्ताहरूलाई निराश नहुन आग्रह गर्नुभयो । उहाँँले पञ्चायत कालको उदाहरण दिँदै संगठन बलियो भए जुनसुकै अवरोध पार गर्न सकिने बताउनु भयो ।
This website uses cookies.