विश्व

सन् २०१३ को रेहानली बम विष्फोटका मुख्य योजनाकार टर्कीमा पक्राउ

टर्कीको राष्ट्रिय गुप्तचर संस्थाले सन् २०१३ मा दक्षिणी सहर रेहानलीमा भएको विनाशकारी बम विष्फोटका मुख्य योजनाकारमध्येका एक ओमर अल–हातिबलाई पक्राउ गरेको छ । सुरक्षा स्रोतहरूका अनुसार, हातिबलाई देश छाडेर समुद्र मार्ग हुँदै युरोप छिर्ने तयारी गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो । सन् २०१३ को मे महिनामा रेहानलीमा भएको दुईवटा कार बम विष्फोटमा परी ५ बालबालिकासहित ५३ जना सर्वसाधारणले ज्यान गुमाएका थिए । टर्कीको इतिहासमा यो एउटा दर्दनाक घटनाका रूपमा दर्ज छ । उक्त घटनाको अनुसन्धानमा सक्रिय रहँदै आएको टर्कीको गुप्तचर निकायले लामो समयदेखि फरार रहेका हातिबको खोजी कार्य जारी राखेको थियो । स्रोतकाअनुसार सन् १९७६ मा सिरियाको इडलिब प्रान्तमा जन्मिएका हातिबले पहिले सिरियाली सेनामा समेत सेवा गरेका थिए । उनले रेहानली विष्फोटको योजना बनाउन र त्यसलाई कार्यान्वयन गर्न मुख्य भुमिका खेलेको अनुसन्धानबाट खुलेको छ ।

हालै गरिएको यो गिरफ्तारीले घटनाका पीडित परिवारलाई न्याय दिलाउने र यस प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको खोजीमा थप बल पुग्ने अपेक्षा गरिएको छ । टर्की सरकारले यसअघि पनि रेहानली हमलामा संलग्न र घटनाको योजना बनाउने धेरै व्यक्तिलाई पक्राउ गरिसकेको छ । यद्यपि पक्राउ परेका हातिबको गिरफ्तारीलाई एउटा महत्वपूर्ण सफलताको रूपमा लिइएको छ । सरकारी निकायले उनको पक्राउको मिति र स्थानबारे थप जानकारी भने सार्वजनिक गरेको छैन । हाल हातिबमाथि थप अनुसन्धान र कानूनी प्रक्रिया अगाडि बढाइएको छ ।

Related Post
Share

This website uses cookies.