देश/समाज

भोटेकोशी र कालीगण्डकी करिडोर विपद् अध्ययनका लागि राष्ट्रिय सभाद्वारा विशेष समिति गठन

काठमाडौँ ।

भदौ र असोज महिनामा देशभर आएको बाढी–पहिरो र विपद्को जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय सभाले ‘भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन’ गर्न नौ सदस्यीय विशेष समिति गठन गरेको छ । राष्ट्रिय सभाको बिहीवारको बैठकले सर्वसम्मत रूपमा पारित गरेको उक्त समितिले विपद् प्रभावितहरूको उद्धार, राहत र पुनःस्थापनाका साथै जलवायु परिवर्तनको प्रभावबारे विस्तृत अध्ययन गरी पुस मसान्तसम्म प्रतिवेदन पेश गर्नेछ । हालै रसुवाको भोटेकोशी नदी र देशका अन्य भागमा आएको विनाशकारी बाढी तथा पहिरोले निम्त्याएको ठूलो जनधनको क्षतिपछि संसद्मा विशेष समिति गठनको माग उठेको थियो । राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १६७ बमोजिम गठन गरिएको यस समितिमा कृष्णप्रसाद पौडेल, गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्णप्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी र तुलप्रसाद विश्वकर्मा सदस्य रहनुभएको छ भने एक सदस्य पछि थपिनेछ ।

समितिले विपद् जोखिम न्युनिकरणका लागि वैज्ञानिक पूर्वसूचना प्रणालीको विकास, प्रभावित क्षेत्रको वैज्ञानिक पुनर्निर्माण र जोखिमरहित बस्ती विकासका लागि मार्गचित्र तयार पार्ने जिम्मेवारी पाएको छ । यसका साथै, समितिले जलवायु परिवर्तनमा न्युन योगदान भएर पनि बढी प्रभावित भएका कारण जलवायु न्यायको माग गर्दै अन्तर्राष्ट्रिय स्तरमा कानूनी आधारबारे समेत अध्ययन गर्नेछ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालकाअनुसार, समितिले आफ्नो कार्यादेश पूरा गर्न आवश्यक कार्ययोजना बनाई प्रतिनिधि सभासँगको समन्वयमा कार्यसम्पादन गर्नेछ । आगामी पुस मसान्तसम्म म्याद तोकिएको यो समितिले विपद् व्यवस्थापन र जोखिम न्युनिकरणका लागि दीर्घकालीन नीतिगत सुझाव दिने अपेक्षा गरिएको छ

Related Post
Share

This website uses cookies.