काठमाडौँ ।
पूर्वराष्ट्रपति एवं नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारीले लुम्बिनी क्षेत्रमा उद्योग व्यवसाय विस्तारका लागि औद्योगिक क्षेत्रमा रहेका समस्या समाधान गर्दै अघि बढ्नुपर्ने बताउनुभएको छ । मंगलवार रूपन्देहीको बुटवलमा आयोजित स्वागत कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उद्योगी व्यवसायीहरूसँग सरसल्लाह गरी यस क्षेत्रमा रहेका समस्या समाधानतर्फ केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । नेता भण्डारीले लुम्बिनी क्षेत्रमा अन्तर्राष्ट्रिय विमानस्थल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र सडक पूर्वाधार निर्माण हुनु महत्वपूर्ण उपलब्धि भएको पनि बताउनु भयो । उहाँले आफूले पहिलो पटक पार्टी उपाध्यक्षको जिम्मेवारी समेत लुम्बिनीमै पाएको स्मरण गर्दै फेरि वरिष्ठ नेताहरुको रुपमा समेत यही क्षेत्रबाट सक्रिय हुन पाउँदा खुशी लागेको बताउनु भयो । भण्डारीले एमालेले आफूलाई वरिष्ठ नेतामा मनोनयन गरेकोमा खुशी व्यक्त गर्दै औपचारिक रूपमा जिम्मेवारी निर्वाह गर्ने प्रक्रिया भने टुङ्गो लाग्न बाँकी रहेको बताउनु भयो । हालै सम्पन्न एमाले केन्द्रिय कमिटी बैठकले भण्डारीलाई वरिष्ठ नेतामा मनोनित गरेको थियो । वरिष्ठ नेता मनोनित भएपछि उहाँको यो उपत्यका बाहिरको पहिलो भ्रमण हो ।
This website uses cookies.