काठमाडौँ ।
नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले भोटेकोशी बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकहरूलाई ‘मृतक सरह’को कानूनी मान्यता दिन सरकारसँग माग गर्नुभएको छ । बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा उहाँले बेपत्ताका परिवारले भोग्नुपरेको आर्थिक र कानूनी जटिलता समाधानका लागि अविलम्ब पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । प्रमुख सचेतक दुलालले बाढीपहिरोमा बेपत्ता भएका व्यक्तिका परिवारले राहत पाउन नसकेको र उनीहरूको दैनिक आर्थिक कारोबारसमेत ठप्प भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । यसैगरी, मलेसियाको वैदेशिक रोजगारीमा सिर्जित पछिल्लो सिन्डिकेटको विषयमा पनि उहाँले आपत्ति जनाउनु भयो । इतिहासमै पहिलो पटक मलेसिया जाने कामदारका लागि सिन्डिकेट लागू गरी ११ सयभन्दा बढी म्यानपावर कम्पनीमध्ये केवल २५ वटालाई मात्र रोजगारदाता छनोटको अधिकार दिइएको विषयले नेपाली बजारमा समस्या खडा गरेको उहाँको भनाइ छ । प्रधानमन्त्रीले मलेसियाली समकक्षीसँग यो विषयमा असन्तुष्टि व्यक्त गरिसकेको भएपनि व्यावहारिक रूपमा सिन्डिकेट कायमै रहनु गम्भीर विषय भएको दुलालको जिकिर छ ।
This website uses cookies.