काठमाडौँ ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जानकी मन्दिर क्षेत्रलाई संरक्षित स्मारक क्षेत्रको रूपमा घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णयको स्वागत गर्नुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले चुनावी प्रतिवद्धताअनुसार मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया अघि बढेकोमा सरकारप्रति आभार व्यक्त गर्नुभएको हो । सांसद झाले गत वर्ष चुनावी अभियानको क्रममा जनकपुरमा गरिएको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने प्रतिवद्धता स्मरण गराउनु भयो । मन्त्रिपरिषद्ले मन्दिर क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरेसँगै उक्त योजना कार्यान्वयनको दिशामा अघि बढेको उनले बताउनु भयो । साथै, उहाँले पछिल्लो समय सरकारी काममा देखिएको तदारुकताको प्रशंसा गर्नुभयो । विशेषगरी, कृष्णभीरको सडक १२ दिनभित्रै सुचारु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले देखाएको सक्रियताको उहाँले प्रशंसा गर्नुभयो । कार्यसम्पादनमा सरकारले देखाएको यो गति अन्य आयोजनाहरूमा पनि आवश्यक रहेको उहाँले संकेत गर्नुभयो ।
सांसद झाले मुलुकका विभिन्न भागमा रहेका बाढीपीडित शिविरहरूको अवस्थाबारे चिन्ता व्यक्त गर्नुभयो । बाढीपीडितहरू बसोवास गरिरहेका अस्थायी शिविरहरूमा महिला र बालबालिकाको सुरक्षा संवेदनशीलता बढेको भन्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनु भयो । असुरक्षित वातावरणका कारण पीडितहरू थप समस्यामा परेको भन्दै उहाँले तत्काल सुरक्षा र व्यवस्थापनका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गर्नुभयो ।
This website uses cookies.