काठमाडौँ ।
राष्ट्रिय सभामा नेपाली काँग्रेस संसदीय दलकी नेता कमला पन्तले विपद् आएपछि उद्धार गर्ने परम्परा अन्त्य गर्दै विपद् आउनुअघि नै आवश्यक तयारी र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन सरकारसँग माग गर्नुभएको छ । शुक्रवार राष्ट्रिय सभाको बैठकमा बोल्दै पन्तले नागरिकको सुरक्षा राज्यको प्रमुख जिम्मेवारी भएको बताउनुभएको हो । जहाँ नागरिक सुरक्षित हुन्छन्, त्यहाँको सरकार नागरिकप्रति संवेदनशील र जिम्मेवार रहेको बुझ्न सकिने उहाँको भनाइ छ । उहाँले संसदले पटक–पटक विपद् आउनुअघि नै आवश्यक तयारी गर्न सरकारको ध्यानाकर्षण गराए पनि राज्यले त्यसलाई पर्याप्त रूपमा कार्यान्वयन नगरेको बताउनु भयो । पन्तले विपद् व्यवस्थापनका क्षेत्रमा विज्ञहरूले दिएका सुझाव र अध्ययनलाई सरकारले व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँकाअनुसार विपद् जोखिम न्युनिकरणका लागि पूर्वतयारीलाई प्राथमिकतामा राख्न आवश्यक छ ।
उहाँले जल तथा मौसम विज्ञान विभागले नदी, मौसम, जलविज्ञान तथा पूर्वसूचना प्रणालीसँग सम्बन्धित सरकारी जिम्मेवारी निर्वाह गर्दै आएको उल्लेख गर्दै विभागको प्राविधिक तथा संस्थागत क्षमता थप वृद्धि गर्नुपर्ने बताउनु भयो । पूर्वसूचना प्रणालीलाई केन्द्र वा जिल्ला तहमा मात्र सिमित नराखी स्थानीय तह हुँदै जनताको घरदैलोसम्म पु¥याउनुपर्ने उहाँको भनाइ छ । पन्तले नेपालका सबै नागरिकसँग मोबाइल वा स्मार्टफोनको पहुँच नरहेको उल्लेख गर्दै विपद्सम्बन्धी सूचना प्रवाहमा रेडियोलाई प्रभावकारी माध्यमका रूपमा प्रयोग गर्नुपर्ने बताउनु भयो । उहाँले विपद् जोखिममा रहेका समुदाय, विशेषगरी किसानसम्म समयमै पूर्वसूचना पु¥याउने प्रभावकारी संयन्त्र निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।
This website uses cookies.