काठमाडौँ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले पछिल्लो समय नेपालमा जलविद्युत आयोजना निर्माण गर्ने कि नगर्ने भन्ने प्रश्न उठ्न थालेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
इप्पानले आयोजना गरेको कार्यक्रममा डाँगीले मुलुकलाई समृद्ध बनाउने आधारका रूपमा निजी क्षेत्रले जलविद्युतमा ठूलो लगानी गरिरहेका बेला आयोजना निर्माणप्रति नै प्रश्न उठ्ने अवस्था सिर्जना हुनु दुःखद् भएको बताउनुभएको हो । जलविद्युत्बाट मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्ने विश्वासका साथ निजी क्षेत्रका सात–आठ सय कम्पनी यस क्षेत्रमा संलग्न रहेको उल्लेख गर्दै डाँगीले अहिले आयोजना निर्माणप्रति नै अन्योल सिर्जना हुनु गम्भीर विषय भएको बताउनु भयो । उहाँले जलविद्युत विकासको आवश्यकता र यसबाट मुलुकले प्राप्त गर्नसक्ने आर्थिक लाभलाई तथ्य र प्रमाणका आधारमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । डाँगीले सरकारले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेकोमा उक्त लक्ष्य पूरा गर्न सकिने बताउनु भयो । जलविद्युत क्षेत्रमा निजी क्षेत्रको बढ्दो लगानी, निर्माणाधीन आयोजना र वित्तीय क्षमताका आधारमा सरकारले निर्धारण गरेको उत्पादन लक्ष्य हासिल गर्न सकिने बताउनु भयो । डाँगीकाअनुसार हालसम्म सम्पन्न भएका करिव ४ हजार ३ सय मेगावाटका आयोजनामध्ये झन्डै ३ हजार ५ सय मेगावाट निजी क्षेत्रका आयोजना छन् । त्यस्तै करिव ६ हजार ४ सय मेगावाट क्षमताका आयोजना निर्माणाधीन अवस्थामा छन् । नेपालमा जलविद्युत विकासको शुरुवाती चरणमा साना आयोजनाका लागि समेत वित्तीय व्यवस्थापन गर्न कठिन हुने गरेको स्मरण गर्दै उहाँले अहिले नेपाली वित्तीय स्रोतबाटै ४ सय ४० मेगावाटसम्मका आयोजनाको वित्तीय व्यवस्थापन हुन थालेको बताउनु भयो । निर्माण सम्पन्न तथा निर्माणाधीन आयोजनाबाट करिव १० हजार ५ सय मेगावाट विद्युत उत्पादनको आधार तयार भइसकेको भन्दै डाँगीले बाँकी २० हजार मेगावाट उत्पादन गर्न निजी क्षेत्रको ठूलो समूह सक्रिय रहेको बताउनु भयो । उहाँकाअनुसार हाल जलविद्युत क्षेत्रमा करिव ५८ वटा ठूला समूहले लगानी तथा योगदान गरिरहेका छन् । ती समूहले आगामी १० वर्षमा औसत चार–पाँच सय मेगावाट क्षमताका आयोजना निर्माण गर्नसके मात्रै पनि थप २० हजार मेगावाट उत्पादनको लक्ष्य हासिल गर्न सकिने उहाँको भनाइ छ ।
डाँगीले विद्युत उत्पादन बढेसँगै नेपालको प्रतिव्यक्ति विद्युत् खपत पनि उल्लेख्य रूपमा बढाउनुपर्ने बताउनु भयो । हाल प्रतिव्यक्ति विद्युत खपत करिव ४८० किलोवाट घण्टा रहेको उल्लेख गर्दै उहाँले आर्थिक वृद्धिका लागि विद्युत खपतलाई करिव तीन गुणाले बढाएर प्रतिव्यक्ति १ हजार ५ सय किलोवाट घण्टाको हाराहारीमा पु¥याउनुपर्ने बताउनु भयो । उहाँले विद्युत निर्यातबाट पनि मुलुकको अर्थतन्त्रमा ठूलो योगदान पुग्ने दाबी गर्नुभयो । सरकारले बंगलादेशमा ५ हजार मेगावाट र भारतमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने लक्ष्य राखेको उल्लेख गर्दै डाँगीले उक्त लक्ष्य हासिल गर्न सके नेपालले ठूलो विदेशी मुद्रा आर्जन गर्न सक्ने बताउनु भयो । उहाँकाअनुसार हाल करिव १२ हजार मेगावाट क्षमताका आयोजनाबाट विद्युत् निर्यात गर्दा २९ अर्ब ३१ करोड रुपैयाँ बराबरको आम्दानी भएको छ । यही अनुपातलाई आधार मान्दा १५ हजार मेगावाट विद्युत निर्यात गर्नसके हालकै मूल्यमा पनि करिव ३ सय ६६ अर्ब रुपैयाँ मुलुकमा भित्र्याउन सकिने उहाँले बताउनु भयो । विद्युत खपत तीन गुणाले बढाउने र ठूलो परिमाणमा विद्युत निर्यात गर्नसक्ने अवस्था बने मुलुकको अर्थतन्त्रलाई समृद्धिको बाटोमा अघि बढाउन सकिने डाँगीको भनाइ छ ।
This website uses cookies.