काठमाडौँ ।
रसुवा वाढीबाट दिवंगत भएकाहरुको सम्झनामा दीप प्रज्वलन गरिएको छ ।राष्ट्रवादी नागरिक समाजले शनिबार काठमाडौंको असन चोकमा दीप प्रज्वलन गरेको हो । समाजका अध्यक्ष चन्द्रबहादुर रामदामले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै दिवंगतप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभयो । उहाँले विपद्को समयमा सरकारको मात्रै भर नपरी स्वदेश तथा विदेशमा रहेका सबै नेपालीले उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्नुपर्ने बताउनु भयो । विपद्को समयमा राजनीतिक आरोप–प्रत्यारोप नगरी मानवीय सहयोगलाई प्राथमिकता दिन उहाँले आग्रह गर्नुभयो । बाढीबाट घरबारविहीन भएकाहरूको तत्काल पुनःस्थापना गर्नुपर्ने र घाइतेहरूको उपचार तथा प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन सरकार, राजनीतिक दल, अभियन्ता र आम नागरिक एकजुट हुनुपर्ने उहाँको भनाई छ ।
समाजकी उपाध्यक्ष लक्ष्मी ओलीले विपद् व्यवस्थापन सरकारको मात्र दायित्व नभएको बताउँदै उद्धार र राहतमा नागरिकस्तरबाट समेत सक्रिय सहभागिता आवश्यक रहेको बताउनु भयो । उहँले उद्धार कार्यमा विज्ञ जनशक्तिको थप परिचालन गर्न पनि आग्रह गर्नुभयो । बाढी प्रभावित परिवारका बालबालिकाको शिक्षा, खानपान र स्वास्थ्यको जिम्मेवारी राज्य तथा सहयोगी निकायले लिनुपर्ने उहाँको भनाई छ । विपद्को समयमा सामाजिक सञ्जालमार्फत गालीगलौज र साइबर बुलिङ नगर्न आग्रह गर्दै उहँले सबै राजनीतिक दल, युवा, स्वयंसेवक र आम नागरिकलाई उद्धार तथा राहत अभियानमा एकतावद्ध हुन अपिल गर्नुभयो ।
कार्यक्रममा बाढीबाट दिवंगत भएकाहरूको सम्झनामा दीप प्रज्वलन गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा प्रभावित परिवारको पुनःस्थापनाका लागि प्रार्थना गरिएको थियो । गत भदौ १० गते भोटेकोशी बाढी गएको थियो । जसकारण हजारौँ नागरिक बेपत्ता छन् भने १ हजार ५ सय बढीको निधन भइसकेको छ ।
This website uses cookies.