काठमाडौँ ।
नेपाली काँग्रेसका सांसद नारायणदत्त मिश्रले संघ सरकारले सबै अधिकार आफैँसँग राखेर प्रदेश सरकारलाई अधिकारविहीन बनाएको आरोप लगाउनुभएको छ । सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै सांसद मिश्रले यस्तो आरोप लगाउनुभएको हो । उहाँले प्रदेश र स्थानीय तहले प्राप्तअधिकारअनुसार गरिरहेको काममा समेत संघीय सरकारले हस्तक्षेप गरिरहेको आरोप लगाउनु भयो । उहाँले अब संघीयताको आवश्यकतामाथि बहस गर्नुभन्दा संविधानले दिएको अधिकारअनुसार प्रदेश र स्थानीय तहलाई प्रभावकारी रूपमा काम गर्ने वातावरण बनाउनुपर्नेमा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो । सांसद मिश्रले संघीय सरकारले प्रदेश र स्थानीय तहले पाएको अधिकारमा कुनैपनि बहानामा हस्तक्षेप गर्न नहुने व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो ।
उहाँले प्रदेशले काम गरेन भन्ने भाष्य निर्माण गर्नुअघि प्रदेशले संविधानले तोकेको र परिस्थितिअनुसार आवश्यक अधिकार पाए कि पाएनन् भनेर हेर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । वित्तीय संघीयता कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहलाई निश्चित कर उठाउने तथा आवश्यक आर्थिक व्यवस्था गर्ने अधिकार दिनुपर्नेमा उहाँको जोड छ ।
This website uses cookies.