राजनीति

ब्याज मिनाहा गरी ऋण नविकरण गरिदिन बाढी पीडित उद्योगी–व्यवसायीको माग

भोटेकोशी–त्रिशूली करिडोरमा १० भदौमा आएको विनाशकारी बाढीले उद्योग, व्यापार र व्यावसायिक क्षेत्रमा ठूलो भौतिक तथा आर्थिक क्षति पु¥याएको छ ।

बाढीले नुवाकोटका मात्र साना तथा ठूला गरी करिब एक हजर आठ सय भन्दा बढी उद्योग तथा व्यवसायमा पूर्ण रुपमा क्षतिग्रस्त भएको नुवाकोट उद्योग वाणिज्य संघले जानकारी दिएको छ । बाढीपीडित व्यवसायीहरुले तत्काल राहत तथा पुनरुत्थानका कार्यक्रम ल्याउन सरकारसँग माग समेत गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालसहितसँगको छलफलमा बाढी पीडित व्यवसायीहरुले पुनः व्यवसाय सञ्चालनको वातारण तत्काल निर्माण गर्न माग गर्नुभएको हो । उनीहरुले बाढीले क्षति पु¥याएका सबैजसो उद्योग तथा व्यवसायहरु बैंकमार्फत ऋण लिएर लगानी गरेको कारण थप समस्यामा परेको दुखेसो पोखेका छन् । एक बाढीपीडित व्यवसायीले सरकारले बाढीपीडित व्यवसायीहरुले लिएको ऋणको नवीकरण तथा ऋण मिनाहा गरिदिनुपर्ने माग राख्नुभयो ।
उहाँले भन्नुभयो, ‘रसुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण नुवाकोटका साना ठूला गरी एक हजार आठ सय उद्योग तथा व्यवसायमा क्षति पु¥याएको छ । केही उद्योगीहरु त शुन्यमै पुगेको अवस्था छ । क्रसर, टिप्परहरु सबै बगायो । खोलाछेउमा भएका सबै प्रकारका उद्योग तथा व्यवसाय बगाएको छ । उहाँहरुको सबै व्यवसाय नै बैंकहरुमार्फत ऋणमा लगानी गरेको थियो । त्यसकारण सरकारले त्यो ऋणको ब्याज मिनाहा गरिदिनुप¥यो । जसले उद्योग तथा व्यवसायको बिमा गर्नुभएको छ । उहाँहरुसँग कागज समेत बाँकी रहेको छैन । त्यो दाबी गरिएको रकम भुक्तानि गरिदियो भने फेरी सर्भाइभ हुनसक्छौँ भन्ने माग पनि आइरहेको छ । अहिले सबै उद्योगी व्यवसायीहरु हामी कहाँ आइरहेका छन् । हामी निजी क्षेत्र भएको कारण हाम्रो कुरा सरकारले नसुनिदिने हो कि भन्ने डर पनि छ । त्यसकारण महासंघमार्फ यो माग सरकारसमक्ष पु¥याइदिनुहोला ।’
अर्का बाढीपीडित व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण कम्तीमा तीन वर्षका लागि नवीकरणको व्यवस्था गर्नुपर्ने तथा बीमा दाबीको रकम झन्झटरहित रूपमा तत्काल भुक्तानी गरिदिन पहल गर्नको लागि अध्यक्ष ढकाललाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अब कम्तिमा पनि हामी व्यवसायीले बैंकमार्फत लिएको ऋण कम्तिमा पनि ३ वर्षको लागि नवीकरण गरिदिनुप¥यो । इन्स्योरेन्समार्फत पनि बिना झमेला सहयताको प्रबन्ध मिलाईदिनुप¥यो । यो मागहरु हजुरहरुले राष्ट्र बैंकको गुनासो शाखामा पनि भनिदिनुप¥यो । यदि यो संकटको समयमा सरकार र बैंकहरुले सहयोग गर्नुभयो भने हामी फेरि उठ्छौँ । हामीले निजी क्षेत्रको छुट्टै कोष बनाएर बाढीपीडित व्यवसायीको सहायताको लागि मिलेर अगाडि बढ्नुपर्छ जस्तो लागेको छ ।’
त्यसैगरी अर्का व्यवसायीले निजी क्षेत्रका व्यवसायीको समस्या सरकारसम्म पु¥याउन नेपाल उद्योग वाणिज्य महासंघमार्फत पहल गर्न आग्रह गर्नुभयो । उहाँले लामो समय विदेशमा काम गरे कमाएको सबै सम्पती व्यवसायमा लगाएको उल्लेख गर्दै बाढीपछि आफूसँग व्यवसाय सञ्चालन गर्ने आधारसमेत नरहेको बताउनु भयो । उहाँले बाढीपीडितका लागि सरकारले बनाउने दीर्घकालीन नीतिसँगै तत्काल पुनरुत्थानको कार्यक्रम ल्याउनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘लामो समयसम्म विदेशमा दुःख गरेर कमाएको पैसाले स्वदेशमै केही गरौँ भने सानो व्यवसाय शुरु गरेको थिएँ । व्यवसाय विस्तारै उठ्दै थियो । यही समयमा बाढी आइदियो । राज्यले हामी व्यवसायीको लागि दीर्घकालीन रुपमा कस्तो नीति बनाउँछ त्यो त हेर्दै गरौँला । तर तत्काल हामीसँग केही पनि छैन । ठूलो मर्कामा परेका छौँ । अब हामीसँग त खेत, जमिन पनि रहेन । गर्दै आएको व्यवसाय गर्ने हो । यसको लागि राज्यको सहयोग चाहिन्छ ।’
बाढी पीडित उद्योगी व्यवसायीहरुसँगको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष ढकालले बाढीबाट प्रभावित निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको आधारभूत आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो । उहाँले राजनीतिक दल, सरकार तथा निजी क्षेत्र सबै मिलेर बाढी प्रभावित नागरिकको खोज, उद्धार र राहतको समस्या समाधान गर्नुपर्ने बताउनु भयो । उहाँले बाढी प्रभावित उद्योगी व्यवसायीहरुको साथमा महासंघ रहेको उल्लेख गर्दै पुनरुत्थानका लागि पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । पूर्वअध्यक्ष ढकालले बाढीपीडित उद्योगी व्यवसायीको ऋण तथा बीमासम्बन्धी समस्या समाधानका लागि नेपाल राष्ट्र बैंकका गभर्नर र अर्थमन्त्रीसँग पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो,‘यो बाढीले निजी क्षेत्रका उद्योगी व्यवसायी साथीहरुलाई एकदमै पीडादिएको छ । म यो संकटको समयमा तपाईं सँगसँगै रहेको विश्वास दिलाउन चाहन्छु । त्यसकारण अहिले तत्काल हाम्रा आधारभूत आवश्यकताको कुरामा भएको समस्या सर्टआउट गरौँ । शुरुमा आफन्त सम्पर्कविहीन भएकामे तथा राहत नपाएको अवस्थामा गास, वास, लगाउने लत्ताको समस्याको समाधान गरेर अघि बड्नुपर्छ । यसको लागि हामीले कुनै राजनीतिक दल, सरकार भन्दा पनि सबै पक्ष मिलेर यस विपद्को सामना गर्नुपर्ने आवश्यकता छ । त्यसपछि व्यवसायगत समस्याको हलको निकाश निकाल्नुपर्छ । हामी जस्तोसुकै समस्यासँग पजि जुधेर माथि उठ्न सक्छौँ । त्यसपछि बैंक तथा इन्स्योरेन्सका कुराहरुमा म तपाईंलाई के विश्वास दिलाउन चाहन्छु भने ग्लोबल आइएमई बैंकको तर्फबाट गर्नसक्ने म गरुँला । अनि नेपाल राष्ट्र बैंकका गभर्नरज्यू तथा अर्थमन्त्रीज्यूसँग उद्योगी व्यवसायीको ऋण र इन्स्योरेन्सको सम्बन्धमा केही सहायताको लागि पहल गर्ने विश्वास पनि दिलाउन चाहान्छु । तपाईंहरु एक्लै हुनुहुन्न । हामी सबै तपाईंको साथमा छौँ ।’
उहाँले ग्लोवल आइएमई बैंकको तर्फबाट गर्न सकिने सहयोगका सम्बन्धमा आवश्यक निर्णय गर्ने विश्वास समेत दिलाउनु भयो ।

Related Post
Share

This website uses cookies.