काठमाडौं । देशभरको मौसममा उल्लेख्य परिवर्तन भई विभिन्न स्थानमा वर्षा र हिमपात हुने सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर साधारणतया बादल लाग्नेछ । दिउँसोको समयमा देशका पहाडी र हिमाली भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । तराई क्षेत्रतर्फ वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा मधेस र कोशी प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने पूर्वानुमान गरिएको छ । यसैगरी, देशका पहाडी भू–भाग र लुम्बिनी प्रदेशको तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । रातिको समयमा पनि देशभरको मौसममा साधारणतया बदली कायमै रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका धेरै स्थान तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही र हिमाली क्षेत्रका थोरै स्थानमा पनि वर्षा र हिमपात हुने देखिएको छ । तराई क्षेत्रका हकमा वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थान तथा मधेस र कोशी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ । विशेषगरी कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने विभागले जनाएको छ ।
This website uses cookies.