राजनीति

वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु

वेस्ट बैंकको उत्तरी सहर जेनिनमा भएको इजरायली हवाई आक्रमणमा परी तीन प्यालेस्टाइनीको मृत्यु भएको छ । स्थानीय प्यालेस्टाइनी स्रोतहरूकाअनुसार इजरायली लडाकु विमानले सहरको हर्ष अल–सादा क्षेत्रमा रहेको एक घरलाई लक्षित गरी सो आक्रमण गरेको हो । आक्रमणलगत्तै उक्त क्षेत्रमा इजरायली सुरक्षा फौज ठूलो संख्यामा परिचालन गरिएको छ । प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले एक प्रेस विज्ञप्ति जारी गर्दै इजरायली सेना घटनास्थलमा पुग्नुअघि नै आफ्ना चिकित्सा टोलीहरू त्यहाँ पुगेको जानकारी दिएको छ । यद्यपि, इजरायली सेनाले पछि स्वास्थ्यकर्मीहरूलाई नियन्त्रणमा लिएको सोसाइटीले जनाएको छ । विज्ञप्तिकाअनुसार सेनाले चिकित्सा टोलीका उपकरणहरू जफत गर्नुका साथै उनीहरूलाई घटनास्थलबाट बाहिर जान आदेश दिएको थियो । सो क्रममा स्वास्थ्यकर्मीहरूलाई घाइते वा मृतकका शवहरू लैजान समेत अनुमति नदिइएको रेड क्रिसेन्टले उल्लेख गरेको छ ।
यसैबीच, इजरायली सेना र आन्तरिक सुरक्षा एजेन्सी ‘सिन बेट’ले एक संयुक्त विज्ञप्ति जारी गर्दै उक्त हवाई आक्रमणको जिम्मेवारी लिएका छन् । मारिनेमध्ये एक जना हमासका कार्यकर्ता ‘अल–बैतावी’ रहेको इजरायली पक्षको दाबी छ । इजरायली वायुसेनाको आक्रमणमा उनीसहित अन्य दुई सहयोगी मारिएको र उनीहरूको सवारी साधनमा हतियारहरू फेला परेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आक्रमणको कडा निन्दा गर्दै हमासले यसलाई ‘नरसंहार’ को संज्ञा दिएको छ। हमासले वेस्ट बैंकमा रहेका प्यालेस्टाइनीहरूलाई इजरायली कदमविरुद्ध प्रतिरोधका स्वरूपहरूलाई थप सशक्त बनाउन आह्वान गरेको छ ।
पछिल्लो समय वेस्ट बैंकमा इजरायली सेनाले छापा मार्ने क्रमलाई तीव्रता दिएको छ भने प्यालेस्टाइनीहरूमाथि बसोबास गर्नेहरूका आक्रमण र भूमि कब्जाका घटनाहरूमा पनि उल्लेख्य वृद्धि भएको छ । यसले गर्दा उक्त क्षेत्रमा हिंसात्मक तनाव थप चुलिएको छ ।

Related Post
Share

This website uses cookies.