काठमाडाैं । फूल र रङको पर्वको रूपमा रहेको तिहारको चहलपहल शुरु भएसँगै हरेक वर्ष फूल किनबेच बढ्ने गरेको छ । चाडपर्वबाहेक पूजाआजादेखि, विभिन्न सजावट, विवाह, स्वागत, बिदाइदेखि मृत्यु संस्कारमा समेत प्रयोग हुने फूलखेतीमा पछिल्लो समय नेपाल आत्मनिर्भर हुँदै गएको छ ।
नेपालमा २०११ सालदेखि सामान्य रूपमा फूलखेती हुँदै आए पनि २०५० सालको दशकपछि भने यसले व्यावसायिक रूप धारणा गरेको हो । पछिल्लो एक दशकयता नेपालमा फूलको व्यावसायिक खेती गर्नेको सङ्ख्या बढ्दो छ । पुष्प व्यवसायबाट मनग्य आम्दानी हुने भएपछि कृषिका अन्य क्षेत्रसँगै पुष्पखेती गर्नेको सङ्ख्या बढ्न थालेको हो ।
यस्तै, फूलको प्रयोग धेरैे तिहार, दशैँ लगायतका पर्व लक्षित फूलखेती गर्नेको सङ्ख्या पनि बढ्दै गएको छ । छोटो समयमा पर्याप्त आम्दानी हुने भएकाले तिहारमा प्रयोग हुने सयपत्री र मखमलीको व्यावसायिक खेती हुने गरेको छ । विशेषगरी तिहारमा फूलको व्यापार धेरै हुने गरेको छ । तिहारमा काठमाण्डौ उपत्यकाभित्र मात्र ४० लाखभन्दा बढी माला बिक्री हुने गरेको नेपाल फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ ।
फूलको प्रयोग बढिरहेको नेपालमा नर्सरीदेखि जमिन भाडामा लिएर पुष्प व्यवसाय गर्न थालिएको छ । बढ्दो शहरीकरणको विकास तथा विस्तारसँगै सातै प्रदेशका मुख्य शहर तथा देशका ५२ जिल्लामा पुष्पखेती भइरहेको एसोसिएसनको तथ्याङ्क छ । देशभरका झन्डै दुई सय ७० हेक्टर क्षेत्रफलमा पुष्पखेती गरिएको छ । पुष्प व्यवसायमा आठ अर्ब ८३ करोडभन्दा धेरैको लगानी रहेको र ५३ हजार पाँच सय व्यक्तिलाई रोजगार प्रदान गरिएको छ । पुष्प व्यवसायको माग र आपूर्तिमा वार्षिक वृद्धिदर १० प्रतिशतभन्दा धेरै रहेको छ ।
कोरोना महामारीको समयमा पुष्प व्यवसायमा असर गरेको भए पनि विस्तारै पुष्प व्यवसायले गति लिँदै गएको छ । नेपालमा उत्पादन हुने फूल जापान, हङकङ, अमेरिका, अस्ट्रेलिया, कतार, क्यानडा, यूएईलगायत देशहरुमा निर्यात हुँदै आएको एसोसिएसनले जनाएको छ । यद्यपी नेपालमा फूलखेती कृषि क्षेत्रको एक उदीयमान हिस्सा भए तापनि यसमा धेरैजसो कृषकले विभिन्न समस्याको सामना गरिरहेका छन्। प्रमुख समस्याहरूमा प्राविधिक ज्ञानको अभाव, उच्च गुणस्तरको बीउबिजन तथा मलजलको अभाव, फुलको भण्डारण तथा यातायातको समस्या, बजार पहुँचको कमी, र नीतिगत समर्थनको अभाव रहेका व्यवसायीहरु बताउँछन् ।
यसका साथै, फूल खेतीलाई व्यवसायिक रूपमा विकास गर्न आवश्यक पूर्वाधारहरू — जस्तै हरितगृह प्रविधि, सिंचाइ व्यवस्था, र आधुनिक उपकरणहरूको अभाव पनि एक चुनौतीको रुपमा रहेको छ । धेरैजसो कृषक परम्परागत तरिकामा निर्भर छन्, जसले उत्पादनको मात्रा र गुणस्तरमा असर पार्दछ । यी समस्याहरू समाधान गर्न सरकारले तथा निजी क्षेत्रले केही महत्वपूर्ण पहलहरू लिन आवश्यक छ ।
पहिलो, कृषकहरूलाई तालिम तथा प्रविधि हस्तान्तरण मार्फत आधुनिक फूलखेती प्रविधिमा अभ्यस्त गराउनु पर्छ। दोस्रो, गुणस्तरीय बीउ, मल, र अन्य उत्पादन सामाग्री सहज उपलब्ध गराउने व्यवस्था गर्नुपर्छ। तेस्रो, उत्पादनको भण्डारण, प्याकेजिङ र निर्यात गर्न अनुकूल पूर्वाधार निर्माण गर्नुपर्छ। साथै, फूलको मूल्य निर्धारणमा पारदर्शिता ल्याई कृषकलाई उचित मूल्य प्राप्त हुने वातावरण बनाउनुपर्छ।
सरकार तथा स्थानीय निकायहरूले सहकारी र निजी क्षेत्रसँग साझेदारी गरेर फूलखेतीलाई व्यावसायिक तथा निर्यातमुखी बनाउन सक्ने कार्यक्रमहरू ल्याउनु अहिलेको आवश्यकता हो ।





