काठमाडाैं । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू–भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सीमा व्यापारको सहमति भएलगत्तै परराष्ट्र मन्त्रालयले प्रेस नोट निकालेर यसबारे प्रष्ट पारेको हो ।
भारत सरकारलाई त्यस क्षेत्रमा सडक निर्माण, विस्तार, सीमा व्यापारजस्ता कुनै पनि क्रियाकलाप नगर्न आग्रह गर्दै आएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको तीनबुँदे वक्तव्यमा नेपालको आधिकारिक नक्सा समावेश भइसकेको क्षेत्रबारे भारत र चीन दुवै देशलाई जानकारी गराइसकेको पनि उल्लेख छ ।
नेपालले कूटनीतिक माध्यमबाट यस मुद्दामा समाधान खोज्न तयार रहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको दुई दिने भारत भ्रमणका क्रममा भारत र चीनले अस्ति नेपाललाई थाहै नदिएर लिपुलेक नाका प्रयोगबारे सहमति गरेका थिए ।
लिपुलेक नेपाली भू–भाग हो । यसको उत्तरतर्फ चीनको तिब्बत छ । लिपुलेकभन्दा झन्डै १७ किलोमिटर पश्चिम लिम्पियाधुरा पर्छ, जसलाई नेपालले चीन र भारतसँगको त्रिदेशीय विन्दु मान्दै आएको छ । तर, भारतले नेपाली भूमि अतिक्रमण गरी लिपुलेक नाका हुँदै तिब्बत जाने सडक बनाएको छ र यस क्षेत्रमा सैन्य तथा सामरिक संरचना निर्माण गरेको छ ।
दश वर्षअघि पनि यी दुबै देशले यस्तो सहमति गर्दा नेपालले विरोध जनाएको थियो ।





