राजनीति

मुलुकलाई ‘ग्रे लिस्ट’बाट निकाल्न सरकारले भगीरथ प्रयास गरिरहेको छः अर्थमन्त्री वाग्ले

काठमाडौं ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई जोखिमपूर्ण मुलुकको सूची (ग्रे लिस्ट) बाहिर निकाल्न सरकारले भगीरथ प्रयास गरिरहेको बताउनुभएको छ ।

शुक्रवार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८औँ साधारणसभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाललाई ग्रे लिष्टबाट चाँडोभन्दा चाँडो बाहिर निकाल्नको लागि अन्तर्राष्ट्रिय समूदायमा समेत पहल भइरहेको बताउनुभयो । उहाँले सरकारले आफ्नो पक्षलाई बलियो ढङ्गले प्रस्तुत गर्न राष्ट्र बैंकका डेपुटी गभर्नर, महान्यायाधिवक्ता कार्यालयका सहमहान्यायाधिवक्तासहित ५–६ जनाको टोली नै परिचालन गरिएको पनि बताउनुभयो । उक्त टोली हाल मलेसियामा रहेर काम गरिरहेको अर्थमन्त्री वाग्लेको भनाइ छ  । उहाँले एफएटीएफकै विषयमा अमेरिकी अर्थमन्त्रीसँग आफूले भेट गर्ने प्रयास गरिरहेको समेत बताउनुभयो । नेपाल ग्रे लिस्टबाट समयमै बाहिरिन नसके त्यसको प्रत्यक्ष असर नेपालको अन्तर्राष्ट्रिय वित्तीय विश्वसनीयता, करेस्पोन्डेन्ट बैंकिङ, लगानी वातावरण र पुँजी प्रवाहमा समेत पर्ने भएको कारण सरकार गम्भीर भएर काम गरिरहेको उहाँको भनाइ छ । उहाँले ग्रे लिष्टबाट बाहिर निस्कन सरकारले चालिरहेको कदमबारे अफवाह फैल्याउने कार्य भइरहेको पनि बताउनुभयो । उहाँले प्राकृतिक विपद्बाट भएको क्षति तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालनमा समेत सरकार केन्द्रित रहेको बताउनुभयो । पुनर्निर्माणलाई पुरानै संरचना पुनःनिर्माण गर्ने अवसरका रूपमा मात्र नभई जलवायु उत्थानशील पूर्वाधार निर्माण गर्ने अवसरका रूपमा उपयोग गर्ने सरकारको नीति रहेको उहाँको भनाए छ ।

उहाँले भन्नुभयो, ‘फाइनान्सियल एक्सन टास्क फोर्स (एफटिएफ)को ग्रे लिस्टबाट नेपाललाई निकाल्नमा हाम्रो भगीरथ प्रयास चलिरहेको छ । यसैका लागि चालिएका केही कदमहरुबाट अलिकति अफवाहहरु पनि फैलिने गरेका छन् । त्यसमा सेजोन जस्तो जिम्मेवार संस्थाका सदस्यहरुले यसलाई जुन गम्भीरताका साथ उठाइदिनुपर्ने हो, त्यसै अनुरुप गरिदिनुहुन म अनुरोध पनि गर्न चाहन्छु । अहिले म यहाँ बोल्दाबोल्दै मलेसियामा हाम्रो टिमले काम गरिरहेको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर, महान्यायाधिवक्ता कार्यालयका सहमहान्यायाधिवक्ताको टिममा अहिले ५–६ जना हामीले विशेष मोबिलाइज गरेका छौँ । नेपालको केस जबर्जस्त ढङ्गले प्रश्तुत गर्नुपर्छ भनेर हामी लागिरहेका छौँ । यही विषयमा  अमेरिकी अर्थमन्त्रीसँग म आफैँ भेट्न खोज्दैछु । यो एफटिएफबाट चाँडै नै ननिस्किने हो भने, यो हलुका विषय होइन । यसले हाम्रो इन्टरनेशनल फाइनान्सियल क्रेडिटिबिलिटी, करेस्पोन्डिङ बैंकिङ, इन्भेस्टमेन्ट क्लाइमेट र क्यापिटल फ्लोसँग सोझै सम्बन्ध राख्ने हुनाले यता यत्रो काम गर्ने तर अन्तर्राष्ट्रिय रुपमा नै हामी चाहिँ सुडान, हाइटीको हाराहारीमा हुने हो भने यहाँ यो हामीले गरेको प्रयासको कुनै प्रतिफल आउँदैन । त्यसैले हामीले यो विषयमा गम्भीर भएर लागेका छौँ । त्यसको लागि वर्षौंदेखि टारिँदै आएका सुधारहरु पनि हामीले बोल्ड्ली, अनपपुलर भइएला भन्ने डरबाट च्युत नभइकन यसलाई बोकेर अगाडि बढेका छौँ, त्यो तपाईँहरुले देखिनै राख्नुभएको छ । र त्यसबाट सिर्जित प्रहारहरु पनि हामीले भोगिनै रहेका छौँ । विपद्बाट भएको क्षति र पुनर्निर्माणका लागि इन्टरनेशनल फाइनान्सिङ मोबिलाइजेशनमा पनि हामी केन्द्रित छौँ । पुनर्निर्माणलाई केवल पुरानै संरचनामा फर्काउने अवसरका रुपमा होइन, क्लाइमेट रेजिलेन्ट इन्फ्रास्ट्रक्चर निर्माण गर्ने अवसरका रुपमा प्रयोग गर्नुपर्छ । यी सबै कार्यक्रम फरकफरक देखिए पनि तिनको इकोनोमिक मर्म एउटै छ ।’

उहाँले मुलुकको आर्थिक समृद्धिका लागि सरकार नीजि क्षेत्रलाई सँगै लिएर काम गर्न खोजिरहेको बताउनुभयो । उहाँले लगानीमैत्री वातावरण निर्माण गर्न आफूले अर्थमन्त्री भएकै दिनदेखी नीतिगत सुधारको काममा लागिपरेको पनि बताउनुभयो ।

Related Post
Share

This website uses cookies.