राजनीति

जनताको समस्या संकलन गरेर प्रधानमन्त्री र पार्टी सभापतिलाई बुझाउने अमरेशको तयारी, वैशाखमा मध्यपहाडी लोकमार्गको पदयात्रा गर्ने

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले मेची–महाकाली पदयात्राका क्रममा जनताबाट संकलन गरिएका समस्या र गुनासा प्रधानमन्त्री तथा पार्टी सभापतिलाई बुझाउने बताउनुभएको छ ।
सोमवार जनकपुरधाममा आयोजित कार्यक्रममा बोल्दै सिंहले जनताको घरदैलोमै पुगेर उनीहरूका समस्या सुन्ने र त्यसलाई अभिलेखीकरण गरी सम्बन्धित नेतृत्वसमक्ष पु¥याउने उद्देश्यले पदयात्रा गर्न लागेको बताउनुभएको हो । उहाँकाअनुसार पदयात्राका क्रममा संकलन गरिएका जनताका समस्या तीन प्रति तयार पारिनेछ । एउटा प्रति पार्टी सभापतिलाई पुस्तकका रूपमा हस्तान्तरण गरिने, दोस्रो प्रति प्रधानमन्त्रीलाई बुझाइने र तेस्रो प्रति आफैँले राखेर संसद्मा जनताका समस्या उठाउन प्रयोग गरिनेछ । सिंहले मंगलवार बिहान मेचीको किनारबाट शुरु हुने पदयात्रा आगामी माघ १ गते मकर सङ्क्रान्तिका दिन महाकालीको किनारमा पुगेर टुङ्गिने जानकारी दिनुभयो । करिव दुई महिनासम्म चल्ने यात्रामा दैनिक पाँच घण्टा पैदल हिँड्ने र सात घण्टा जनताका कुरा सुन्ने उहाँको योजना छ । पदयात्राका क्रममा प्रत्येक २० देखि २५ किलोमिटरको दूरीमा पर्ने गाउँमा पुगेर स्थानीयसँग संवाद गर्ने उहाँले बताउनु भयो । मजदुर, किसान, महिला, दलित, मुस्लिम, व्यापारी तथा युवालगायत सबै वर्ग र समुदायका नागरिकसँग भेटेर उनीहरूका समस्या सुन्ने उहाँको भनाइ छ । विशेषगरी युवाको रोजगारी, किसानका समस्या र विभिन्न समुदायका आवश्यकता बुझ्ने बताउनु भयो । सिंहले हुलाकी राजमार्गको पदयात्रापछि आगामी वैशाखमा मध्यपहाडी लोकमार्गबाट अर्को यात्रा गर्ने योजना पनि सुनाउनु भयो । झुलाघाटबाट शुरु हुने उक्त यात्रा चिवाभञ्ज्याङमा पुगेर समापन हुनेछ ।

सिंहले रास्वपाको सफलता देशको सफलतासँग जोडिएको दाबी गर्दै जनताले दिएको अभिमत र उनीहरूका आकाङ्क्षालाई सम्मान गर्दै पार्टी तथा सरकारले आफ्ना कमजोरी सच्याएर अघि बढ्नुपर्ने बताउनु भयो ।

Related Post
Share

This website uses cookies.