काठमाडौँ ।
पोखरा महानगरपालिकाले फेवातालको सुन्दरता र वातावरणीय सन्तुलन कायम राख्ने लक्ष्यसहित फिर्के खोलाको अतिक्रमण हटाउने कार्यलाई तिब्रता दिएको छ । असोज १५ गतेबाट शुरु गरिएको अभियान अन्तर्गत हालसम्म खोलाको मापदण्ड मिचेर निर्माण गरिएका २६ वटा पक्की संरचनाहरूमा महानगरले डोजर चलाएको हो । महानगरपालिकाले केवल अवैध संरचना हटाउने कार्यमा मात्र सीमित नरही, खोलाका दुवै किनारमा करिडोर (ट्र्याक) निर्माणलाई पनि समानान्तर रूपमा अघि बढाएको छ । यसले भविष्यमा उक्त क्षेत्रमा व्यवस्थित सडक सञ्जाल र ढल निकासको व्यवस्था सुनिश्चित हुने अपेक्षा गरिएको छ । यस अभियान अन्तर्गत चर्चित फिर्के खोला अतिक्रमण प्रकरणमा मुछिएको पूर्वमाओवादी नेता ज्ञानबहादुर कोईरालाको पाँचतले पक्की भवन पनि भत्काइएको छ । आफ्नो संरचना हटाइने विषयमा पहिले नै जानकार रहेको बताउँदै कोईरालाले तत्कालीन समयमा आवेगमा आएर गल्ती गरेको स्वीकार गर्नुभयो । महानगरको यो कदमले जुनसुकै प्रभावशाली व्यक्ति भएपनि कानुनको दायराभन्दा माथि कोही नरहेको बलियो सन्देश प्रवाह गरेको छ ।
यद्यपि, महानगरको यो अभियानलाई स्थानीय बासिन्दाहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । अतिक्रमण हटाउने कार्यलाई अधिकांशले स्वागत गरे पनि, यो केवल संरचना भत्काउनमा मात्र केन्द्रित हुने हो वा खोलाको दिगो व्यवस्थापन र सौन्दर्यीकरणमा पनि उत्तिकै सक्रियता देखाइने हो भन्ने विषयमा स्थानीयमाझ केही आशंका कायमै छ । महानगरपालिकाले भने यो कार्य खोलाको दीर्घकालीन स्वच्छता र व्यवस्थित शहर निर्माणको महत्वपूर्ण हिस्सा भएको दाबी गरेको छ ।
This website uses cookies.