देश/समाज

खराब प्रदर्शनसहित जुडोमा नेपालका चार खेलाडी पराजित

काठमाडौँ ।

नेपालका चार जुडो खेलाडीले २० औं एशियाली खेलकुदमा खराब प्रदर्शन गर्दै पहिलो चरणमै हार सामना गरेका छन् । जापानको नागोयामा बुधवार भएको खेलमा नेपालका विशेष र विकाश विक तथा देवकीमाया र निशा श्रेष्ठले पहिलो चरणमा बाहिरिए । आइची इन्टरनेसनल एरिनामा भएको खेलमा चारै खेलाडीले खराब प्रदर्शन गरे । चारमध्ये निसा र विकाश निर्धारित समयसम्म टिक्नै सकेनन् । पुरुष ६० केजीमुनि तौलसमूहमा विकास उज्बेकिस्तानका समरिद्दिन कुचकारोभसँग इप्पोनको आधारमा पराजित भए । यी दुवैले पहिलो चरणमा बाई पाएका थिए । तर विकासले त्यसलाई सदुपयोग गर्न सकेनन् । समरिद्दिन एसियन जुनियर विश्व च्याम्पियनसिपको स्वर्ण विजेता हुन् । कुल चार मिनेटको खेलमा विकास म्याटमा एक मिनेटमै नतिजा सुम्पिन बाध्य भए ।

पहिलो सेकेण्डदेखि नै समरिद्दिन आक्रामक देखिए । अन्तत् उनले विकासमाथि ४८ सेकेन्डभित्र नै बाजी मारे । महिला ४८ केजी तौलसमूहमा पनि निशाले खराब प्रदर्शन गरिन् । उनी हङकङकी योङ का लीसँग इप्पोनको आधार पराजित हुन पुगिन् । २ मिनेट ३२ सेकेन्डमा नै निसाले नतिजा सुम्पिएकी थिइन् । महिला ५२ केजीमा देवकी मायाले पनि पहिलो चरणमा भियतनामकी लाम थी एनगान हासँग युकको आधारमा पराजित हुन पुगिन् । अनुभवी खेलाडी देवकी मायाले अन्तिम समयसम्म चुनौती दिइन् । तर, खेल सकिन २० सेकेण्ड बाँकी छँदा युको सामना गर्न पुगेपछि देवकी माया पराजित भइन् । त्यसअघि दुवैले सिदो (पहेंलो कार्ड ) सामना गरेका थिए । उनी निसाकी दिदी हुन् । अर्का पराजित खेलाडी विकास र विशेष पनि दाजुभाइ हुन् । विशेष भने पुरुष ६६ केजी तौलसमूहमा हङकङका वाङ का कीसँग वाजारिका आधारमा पराजित हुन पुगे । तर, विशेषले चार मिनेटसम्म चुनौती दिए पनि पराजित भए । अब नेपालले दुई विधामा पुनम श्रेष्ठले महिला ७० केजीमुनि तौलसमूह, सुजन गुरुङले पुरुष ९० केजीमुनि तौलसमूह र मिक्स टिममा प्रतिस्पर्धा गर्नेछ ।

Related Post
Share

This website uses cookies.