लेबनानका राष्ट्रपति जोसेफ आउनले इजरायललाई कब्जा गरेका सम्पूर्ण लेबनानी भूमि छाड्न र आक्रमण रोक्न आग्रह गर्नुभएको छ । उहाँले इजरायलसँग आफ्नो नियन्त्रणमा रहेका लेबनानी बन्दीहरूलाई समेत फिर्ता गर्न माग गर्नुभएको छ । लेबनानको ८३ औँ स्वतन्त्रता दिवसका अवसरमा बेरुतमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति आउनले इजरायलले लेबनानी भूमिबाट पूर्ण रूपमा फिर्ता हुनुपर्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘लेबनानको एक इन्च भूमि पनि कब्जामा राख्न पाइँदैन । आफ्ना आक्रमण रोक्नुहोस् र हाम्रा बन्दीहरूलाई फिर्ता गर्नुहोस् ।’
उहाँले कब्जाले सुरक्षा र विनाशले शान्ति स्थापना गर्न नसक्ने उल्लेख गर्दै दक्षिणी लेबनानका विस्थापित नागरिकलाई आफ्ना घर फर्कने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । राष्ट्रपति आउनले आन्तरिक सुरक्षाको विषय उठाउँदै राज्यको नियन्त्रणबाहिर रहेका हतियारको युग अन्त्य हुनुपर्ने बताउनु भयो । त्यस्ता हतियारले स्थानीय समुदायलाई ठूलो क्षति पु¥याएको र विदेशी स्वार्थको सेवा गरेको उहाँको भनाइ थियो । उहाँले लेबनानी सेनाले सबै नागरिकको सुरक्षा गर्ने उल्लेख गर्दै संविधान र कानुनअनुसार राज्य नै सबै समुदायको अधिकार तथा स्वतन्त्रताको प्रत्याभूति दिन सक्ने एकमात्र निकाय भएको बताउनु भयो । राष्ट्रपति आउनले स्थायी र न्यायपूर्ण शान्ति स्थापनाका लागि सैन्य शक्तिमात्र पर्याप्त नहुने पनि स्पष्ट पार्नुभयो । कूटनीतिक प्रयासप्रति प्रतिवद्धता व्यक्त गर्दै उहाँले वार्ता र संवादलाई आत्मसमर्पणका रूपमा बुझ्न नहुने बताउनु भयो ।
This website uses cookies.