योजित कार्यक्रममा उहाँले नेपाल संवत कुनै एक जात वा भाषा विशेषको मात्रै नभएको बताउनुभएको हो । उहाँले नेपाल संवत केवल समय गणना गर्ने पात्रो मात्र नभई नेपालको मौलिक इतिहास र सभ्यताको महत्वपूर्ण धरोहर भएको उल्लेख गर्नुभयो । नेपाल संवतको प्रारम्भ राष्ट्रिय विभूति शंखधर साख्वाको लोककल्याणकारी योगदानसँग जोडिएको बताउँदै उहाँले ऋणमा डुबेका जनतालाई ऋणमुक्त गराएर साख्वाले सामाजिक न्याय, परोपकार र सामूहिक हितको सन्देश दिएको उल्लेख गर्नुभयो । नेपाल संवत ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक महत्व नेपाल मण्डलको जीवन पद्धतिसँग गहिरो रूपमा जोडिएको उहाँको भनाई छ । उहाँकाअनुसार चाडपर्व, जात्रा, संस्कार र परम्पराको निरन्तरतामा नेपाल सम्वत्को महत्वपूर्ण भुमिका रहँदै आएको छ । उहाँले नेपाल संवत नेपालको लोकतान्त्रिक तथा सांस्कृतिक आन्दोलनको महत्वपूर्ण अध्याय समेत भएको बताउनु भयो । विशेषगरी पञ्चायती शासनकालमा भाषा, संस्कृति, लिपि र पहिचानको अधिकारका लागि यस आन्दोलनले महत्वपूर्ण आवाज उठाएको उहाँको भनाइ छ । शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा, नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता प्रदान तथा सरकारी कागजातमा समेत यसको उल्लेख गर्ने निर्णय आन्दोलनका महत्वपूर्ण उपलब्धि भएको उहाँले बताउनुभयो । यी उपलब्धिलाई व्यवहारमा कार्यान्वयन गर्दै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायमा नेपाल संवतको प्रयोग विस्तार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सभामुख अर्यालले मौलिक इतिहास, भाषा, संस्कृति र राष्ट्रिय पहिचानको संरक्षणमा सबैलाई एकजुट हुन आह्वान समेत गर्नुभयो ।
This website uses cookies.