काठमाडौँ ।
रूपन्देहीको मर्चवारस्थित सम्मरीमाई गाउँपालिका–५ को भरवालिया गाउँका बासिन्दा वर्षौंदेखि आधारभुत पूर्वाधार र सेवाको अभावमा कष्टकर जीवन बिताउन बाध्य छन् ।नदीमा पक्की पुल नहुँदा नजिकै रहेको बस्तीमा पुग्नसमेत घण्टौँ खर्चिनुपर्ने अवस्था छ । पाँच मिनेटमा पार गर्न सकिने नदी तर्न स्थानीयले ५० देखि ५५ किलोमिटर घुम्नुपर्ने र गाडिमा गएपनि डेढदेखि २ घण्टा टाढाबाट घुम्नुपर्ने वाध्यता रहेको छ । नदीको वारी र पारी रहेका बस्तीका बासिन्दालाई आवतजावत गर्न मात्रै होइन, खेतीपाती गर्न, कृषि उपज ओसारपसार गर्न तथा दैनिक जीवनयापन गर्नसमेत धेरै नै समस्या हुने गरेको छ । गाउँमा सडक, खानेपानी, विद्युत, शिक्षा र स्वास्थ्यजस्ता आधारभुत सुविधाको सहज पहुँचसमेत नपुगेको स्थानीयको गुनासो छ । स्थानीय जमेरून निशा, जेलिल देवान, नुरूद होदा मुसलमान, बेचन हरिजनले वर्षौंदेखि आफूहरूले दुःख भोग्दै आएपनि समस्या समाधानका लागि सम्बन्धित निकायले पर्याप्त चासो नदिएको बताउनु भयो । उहाँहरूकाअनुसार गाउँमा न सिधा सडक छ, न सहज आवागमनको व्यवस्था,शिक्षा र स्वास्थ्य सेवाका लागि समेत सहज पहुँच नहुँदा स्थानीयले अनेक कठिनाइ झेल्नुपरेको छ । स्थानीयकाअनुसार विसं २०३२ मा बाढी पसेपछि एउटा गाउँ खोला वारी र पारी छुट्टाएको हो ।
गाउँ विस्थापित हुँदा बस्तीलाई पुरानो स्थानबाट करिव एक किलोमिटर टाढा सार्नुपरेको थियो । त्यसपछि पनि प्राकृतिक विपत्तिको जोखिम र पूर्वाधार अभावले गाउँलेको जनजीवन सहज हुन सकेको छैन ।विसं २०६० मा तत्कालीन वडा नम्बर ५ अन्तर्गतको मंगलपुर गाउँमा भएको आगलागीले ५ जनाको मृत्यु भयो भने ठूलो क्षति पु¥याएको स्थानीयले स्मरण गरेका छन् । आगलागीका बेला उद्धार र उपचारको पर्याप्त व्यवस्था नहुँदा पीडा भोग्नुपरेको तथा परिवारका सदस्यसमेत गुमाउनुपरेको उहाँहरूको भनाइ छ । विपत्तिका बेला आवश्यक सहयोग नपाएको र त्यसपछि पनि आफूहरूको अवस्था बुझ्न तथा समस्या समाधान गर्न कोही नफर्किएको स्थानीयको गुनासो छ । तिनाउ दानव नदीमा एउटा झोलुङ्गे पुल भएपनि त्यसबाट सवारीसाधन लैजान सकिने अवस्था छैन । त्यसैले नदीको अर्को किनारमा रहेका खेतबारीमा पुग्न किसानलाई कठिनाइ हुने गरेको छ । खेतमा बाली लगाउनेदेखि स्याहार्ने र उत्पादन भित्र्याउने बेलासम्म किसानले अतिरिक्त समय, श्रम र खर्च व्यहोर्नुपरेको छ । बीउबिजन, पानी तथा कृषि सामग्री ओसारपसार गर्नसमेत समस्या हुने गरेको उनीहरूको भनाइ छ ।
पक्की पुल बने ५० हजार मानिस लाभान्वित हुने दाबी
स्थानीय अगुवा वाजिद अली देवानले भरवालिया गाउँको आवागमन सहज बनाउन सडक निर्माणका लागि पहल गर्दै आएको बताउनु भयो । उहाँकाअनुसार नदीमा पक्की पुल निर्माण हुनसके भरवालियासहित बुद्ध जन्मस्थल लुम्बिनी आसपासका क्षेत्रका करिव ५० हजार मानिस प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । उहाँकाअनुसार पुलको अभावले स्थानीयको समय र खर्च मात्रै बढाएको छैन, शिक्षा, स्वास्थ्य, कृषि र आर्थिक गतिविधिमा समेत असर पारेको छ । सहज सडक सञ्जाल नहुँदा गाउँको समग्र विकास प्रभावित भएको उहाँको भनाइ छ । यस वडामा करिव ६ हजार ५ सय जनसंख्या छ भने पालिकाभर ४३ हजार जनसंख्या छ । उहाले यहाँको वास्तविक अवस्थाका बारेमा अहिलेको सरकार र पुर्वाधार मन्त्री सुनिल लम्सालसहित यसक्षेत्रका संघीय सांसदहरू कन्हैया वनिया र तैफिक अहमदलाइ समेत भेटेरै जानकारी गराईएको बताउनु भयो । यो रूपन्देहीको क्षेत्र न ४ अन्तर्गत पर्दछ ।
चुनावी आश्वासनमा सीमित छ यहाँको विकास
स्थानीयले चुनावका बेला विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता घरदैलोमा पुगेर विकासका आश्वासन दिने गरे पनि व्यवहारमा अपेक्षित परिवर्तन नआएको गुनासो गरेका छन् । स्थानीयका अनुसार राजनीतिक नेतृत्व विभिन्न पदमा पुगे पनि बरवरियाको सडक, पुल र आधारभूत सेवासम्बन्धी समस्या समाधान हुन सकेको छैन । मर्चवार क्षेत्रका विभिन्न बस्तीमा पूर्वाधार विकासको आवश्यकता रहेको उल्लेख गर्दै स्थानीयले बरवरियाको समस्यालाई प्राथमिकतामा राख्न माग गरेका छन् । खासगरि उनीहरूले तिनाउ दानव नदीमा पक्की पुल निर्माण, सडकको स्तरोन्नति तथा शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् । उनीहरूको मूल पेशा नै खेतिकिसानी र मजदुरी रहेको छ ।
स्थानीयका लागि पक्की पुल केवल नदी वारपार गर्ने संरचना मात्रै होइन, वर्षौंदेखि भोग्दै आएको सास्तीबाट मुक्ति पाउने आशा पनि हो । पुल निर्माण भए किसानलाई खेतीपाती गर्न, बालबालिकालाई विद्यालय जान, बिरामीलाई अस्पताल पु¥याउन र गाउँका बासिन्दालाई दैनिक कामकाज गर्न सहज हुने स्थानीय नन्दलाल हरिजनको भनाइ छ । वर्षौंदेखि विकासको प्रतीक्षामा रहेको भरवलियाका बासिन्दाले अब आश्वासनभन्दा कामको अपेक्षा गरेका छन् । आधारभुत सेवाको समेत सहज पहुँच नभएको यो गाउँमा सरोकारवालाको ध्यान समयमै जान जरूरी देखिन्छ ।
This website uses cookies.