काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँका अवसरमा नवदुर्गाको अवतारका रूपमा नौ जना कन्या (नवकन्या) को विधिपूर्वक पूजाअर्चना गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा मङ्गलवार आयोजित विशेष धार्मिक अनुष्ठानमा राष्ट्रपति पौडेल तथा प्रथम महिला सबिता पौडेलले परम्परागत विधिअनुसार नवकन्याहरूको गोडा धोएर, टीका लगाइदिएर दक्षिणा तथा उपहार प्रदान गर्नुभएको हो । नेपालीहरूको महान चाड बडादशैँका अवसरमा राष्ट्रप्रमुखबाट नवदुर्गास्वरुप नवकन्याको पूजाअर्चना गर्ने लामो परम्परा रहिआएको छ । सोही ऐतिहासिक एवं सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै राष्ट्रपति भवनमा मङ्गलवार बिहान वैदिक विधिपूर्वक कन्या पूजन कार्यक्रम सम्पन्न गरिएको हो । दुर्गा भवानीका नौ वटा अलौकिक स्वरुपहरू–शैलपुत्री, व्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको प्रतीक मानेर नौ जना कन्याको पूजा गरिएको हो । कार्यक्रममा राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले कन्याहरूको पाऊ (गोडा) जलले धोएर, निधारमा रातो अक्षता–टीका र जमरा लगाइदिनुका साथै वस्त्र, फलफूल तथा दक्षिणा उपहारस्वरूप प्रदान गर्नुभयो । हिन्दू धर्मशास्त्रमा नारी शक्ति र पवित्रताको उच्च सम्मान गर्दै दशैँको नवरात्र अवधिमा रजस्वला नभएका बालिकाहरूलाई साक्षात् देवीको प्रतीक मानेर पूजा गर्ने शास्त्रीय मान्यता रहेको छ । यस्तो पूजनले मुलुकमा सुख, शान्ति, समृद्धि छाउने र आसुरी शक्ति परास्त भई दैवी शक्तिको प्रभाव स्थापित हुने धार्मिक विश्वास रहिआएको छ । सोही अवसरमा पुरोहितहरूले स्वस्तिवाचन तथा दुर्गा सप्तशती (चण्डी) का मन्त्रोच्चारण गरेका थिए । शक्तिपीठहरूका साथै घरघरमा घटस्थापनादेखि शुरु भएको दशैँको विशेष अनुष्ठानअन्तर्गत कन्या पूजालाई महत्वपूर्ण धार्मिक कृत्य मानिन्छ ।
This website uses cookies.