राजनीति

कर प्रणालीमा पारदर्शिता बढाउन बिल लिने बानी बसाल्न दीपाश्री निरौलाको आह्वान

काठमाडौं ।

अभिनेतृ दीपाश्री निरौलाले वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानीले उपभोक्तालाई सचेत बनाउनुका साथै राज्यको कर प्रणालीलाई निष्पक्ष र पारदर्शी बनाउन मद्दत पुग्ने बताउनुभएको छ ।
आईतवार आयोजित ‘करदाता प्रोत्साहन कार्यक्रम’ अन्तर्गतका विजेता घोषणा सभामा बोल्दै निरौलाले उपभोक्ताहरूलाई सचेत भई खरिद बिल लिन आग्रह गर्नुभएको हो । नियमित बिल लिने उपभोक्ताहरूमध्येबाट १६ जना सामान्य विजेता र एक जना मुख्य बम्पर विजेताको नाम सार्वजनिक गरिएको छ । कार्यक्रममा सहभागी एक उपभोक्ताले ३ हजार रुपैयाँ बराबरको खरिद बिलमार्फत १० लाख रुपैयाँको मुख्य पुरस्कार प्राप्त गरेका छन् । कार्यक्रममा बोल्दै अभिनेतृ तथा निर्देशक निरौलाले कर प्रोत्साहन प्रणालीमा कुनैपनि पक्षपात वा व्यक्तिगत पहुँच नचल्ने र पूर्ण रूपमा प्रविधिमा आधारित पारदर्शी प्रणालीले काम गरिरहेको बताउनु भयो ।
अभिनेतृ निरौलाले भन्नुभयो, ‘घोषणा भएका १६ जना विजेता र एक जना अहिलेसम्मकै ठूलो विजेता, जसले ३,००० रुपैयाँबाट १० लाख रुपैयाँ जित्नुभएको छ । कति राम्रो । सायद हामी पनि यो प्रक्रियामा आफैँ सहभागी भएको भए जित्न सक्ने रहेछौँ । त्यसकारण, यहाँ कसैलाई हेरेर यो मान्छे मेरो हो, त्यो मान्छे तेरो हो भनेर होइन, यहाँ त एकदमै व्यवस्थित रूपमा सिस्टमले काम गरिरहेको रहेछ । यो सिस्टममा सहभागी हुनका लागि हामीले बिल लिने काम गर्नुपर्ने रहेछ । त्यसकारण मलाई एकदमै धेरै खुशी लागेको छ । आज सुनिरहनुभएका सम्पूर्ण महानुभावहरूलाई मेरो आग्रह छ,आजैदेखि तपाईंहरू पनि सचेत हुनुहोस् । बिल लिनुहोस्, पैसा कमाउनुहोस् ।’
उपभोक्ताले आफ्नो दैनिक खरिदमा बिल माग्ने सानो प्रयासले नै ठूलो अवसर सिर्जना गर्न सक्ने बताउँदै निरौलाले आम नागरिकलाई बिल लिने संस्कार विकास गर्न अपिल गर्नुभयो । ३ हजार रुपैयाँको सामान्य कारोबारबाटै १० लाख रुपैयाँसम्म जित्न सकिने तथ्यले सर्वसाधारणलाई वित्तीय अनुशासन र कर प्रणालीमा जोडिन उत्प्रेरित गर्ने उहाँको भनाइ छ ।

Related Post
Share

This website uses cookies.