काठमाडौँ ।
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई सामान्य टालटुले सुधारले मात्र उकास्न नसकिने भन्दै संस्थालाई बचाउन वृहत शल्यक्रिया अर्थात ‘मेगा अपरेसन’ कै खाँचो रहेको नेतृत्वले स्पष्ट पारेको छ । प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा निगमका निमित्त महाप्रवन्धक जनकराज कालाखेतीले विगतका सुधार सुझाव कार्यान्वयन हुन नसकेको स्वीकार गर्दै संस्थागत पुनर्संरचनाको आवश्यकता औंल्याउनुभएको हो । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको निरन्तर खस्किँदो वित्तीय र व्यवस्थापकीय अवस्थाप्रति चिन्ता व्यक्त भइरहेका बेला संस्थाको नेतृत्वले अब सामान्य सुधारले नहुने निष्कर्ष निगमको छ । कालाखेतीले निगमको समग्र प्रणालीमै गम्भीर समीक्षा र शल्यक्रिया आवश्यक रहेको बताउनु भयो । कालाखेतीले निगमभित्र देखिएका नीतिगत, व्यवस्थापकीय तथा कार्यसञ्चालनका समस्यालाई अल्पकालीन उपायबाट समाधान गर्न खोज्नु व्यर्थ हुने बताउनु भयो । उहाँले निगमको सुधारका निम्ति विगतमा विभिन्न आयोग तथा कार्यदलहरूले बुझाएका अध्ययन प्रतिवेदनहरूको कार्यान्वयन अवस्था अत्यन्तै निराशाजनक रहेको स्वीकार गर्नुभयो । नीति तथा योजना बन्ने तर कार्यान्वयन तहमा गएर अलपत्र पर्ने पुरानै रोगका कारण वायुसेवा निगम संकटको भुमरीमा फसेको उहाँको भनाइ छ ।
संसदीय समितिको बैठकमा सांसदहरूले निगमको व्यवस्थापकीय अक्षमता, जहाज थन्किने समस्या र बढ्दो ऋण भारबारे गम्भीर प्रश्न उठाएका थिए । त्यसको जवाफ दिँदै कालाखेतीले विगतका अध्ययन प्रतिवेदनहरू कार्यान्वयन गर्ने सवालमा व्यवस्थापकीय र राजनीतिक दुवै तह फितलो सावित भएको स्वीकार गर्नुभयो । उहाँले अबका दिनमा ठोस कार्ययोजनासहित संरचनात्मक सुधारमा नगए राष्ट्रिय ध्वजावाहकलाई प्रतिस्पर्धात्मक बजारमा टिकाउन असम्भवप्रायः हुने संकेत गर्नुभयो ।
This website uses cookies.