काठमाडौँ ।
सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का प्रमुख कार्यकारी अधिकृत कञ्चन सापकोटाले अक्सन मार्केट सञ्चालन तथा गैरआवासीय नेपाली (एनआरएन) फण्ड भित्र्याउने विषयमा आवश्यक गृहकार्य पूरा भइसकेको बताउनुभएको छ ।
बुधवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिमा बोल्दै उहाँले अक्सन मार्केट सञ्चालनका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सम्बन्धित निकायसँग समन्वय भइरहेको र सीडीएससीले सेटलमेन्टको काम गर्ने र अक्सन मार्केट सञ्चालनको जिम्मेवारी नेप्सेले लिने गरी प्रक्रिया अघि बढाइएको बताउनु भयो । उहाँकाअनुसार छिट्टै रिजल्ट देखिनेगरी कमा भइरहेको छ । त्यस्तै, एनआरएन फण्ड नेपाल भित्र्याउने विषयमा पनि सीडीएससी र नेप्सेले आवश्यक सबै तयारी तथा कार्ययोजना तयार गरिसकेको उहाँले जानकारी दिनुभयो । अब त्यसको परिणाम आउन मात्र बाँकी रहेको उहाँको भनाइ छ । सापकोटाले लगानीकर्तालाई थप प्रभावकारी सेवा दिन सीडीएससीले प्रविधि तथा पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो । उहाँका अनुसार करिब ८० लाख लगानीकर्ताको होल्डिङ व्यवस्थापन गर्ने डिपोजिटरी भएकाले सीडीएससी प्राविधिक रूपमा बलियो र सक्षम हुनुपर्ने आवश्यकता छ । उहाँले सीडीएससीको तर्फबाट लगानीकर्तालाई सेवा प्रवाह थप प्रभावकारी बनाउन आवश्यक सबै काम अघि बढाइने बताउनु भयो । सीडीएससीको पूर्वाधार विकासमा कुनै पनि प्रकारको सम्झौता गर्न नहुनेमा जोड दिँदै सापकोटाले संस्थाको क्षमता र आवश्यकताअनुसार उत्कृष्ट पूर्वाधार निर्माण गर्नुपर्ने र त्यसका लागि आवश्यक बजेटदेखि अन्य स्रोतसाधनको व्यवस्थापनमा समेत ध्यान दिइने उहाँको भनाइ छ ।
This website uses cookies.