काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेत युवराज दुलालले तातोपानी नाका तत्काल सञ्चालन गर्न सरकारसँग माग गर्नुभएको छ ।
प्रतिनिधि सभाको मंलगवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले रसुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण केरुङ नाका अवरुद्ध भएको उल्लेख गर्दै वैकल्पिक नाकाको रुपमा रहेको तातोपानी नाका खुलाउन कुटनीतिक पहल गर्न सरकारसँग माग गर्नुभयो । उहाँले तातोपानी नाका लामो समयदेखि बन्द हुँदा दशैँको मुखमा आयात–निर्यात प्रभावित हुनुका साथै बजारमा वस्तुको अभाव र महँगी बढ्ने अवस्था सिर्जना भएको बताउनु भयो । उहाँले तातोपानी नाका खुलाउन सरकारले प्रभावकारी कुटनीतिक पहल गर्न नसकेको आरोप पनि लगाउनुभयो । उहाँले भोटेकोशी नदीको बाढीले सामान बगाउँदा व्यवसायीले ठूलो क्षति व्यहोरेका छन् भने नाका बन्द हुँदा चाडपर्वका बेला अत्यावश्यक वस्तुको आपूर्तिमा समेत समस्या आउन सक्ने देखिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले महँगीका कारण गरिब तथा विपन्न परिवारको दैनिक जीवन प्रभावित भइरहेको भइरहेको पनि सरकार त्यसतर्फ गम्भीर हुन नसकेको उहाँको आरोप छ ।
उहाँले मुस्ताङको कोरला नाकामा समेत व्यवसायीले समस्या भोगिरहेको बताउनु भयो । चिनियाँ पक्षले मुस्ताङबाहेकका जिल्लाका चालकलाई प्रवेश अनुमति नदिँदा ठूला सवारी सञ्चालनका लागि पर्याप्त चालक जनशक्ति अभाव भएको उहाँको भनाइ छ ।
This website uses cookies.