देश/समाज

जेनजी आन्दोलनको एक वर्ष स् परिवर्तनको आशा, सुशासनको चुनौती र राज्यप्रतिको नयाँ पुस्ताको खबरदारी

कविना बलामी,काठमाडौँ । जेनजी आन्दोलनको एक वर्ष पूरा हुँदै गर्दा सडकमा उठेको आवाजलाई केवल इतिहासको एउटा घटनाका रूपमा सम्झेर पुग्दैन । ७६ जनाको बलिदानबाट जन्मिएको राजनीतिक परिवर्तनलाई सुशासन, जवाफदेहिता, पारदर्शिता र नागरिकको जीवनमा देखिने वास्तविक परिवर्तनमा रूपान्तरण गर्नुपर्छ । वर्तमान सरकारले गरेका सकारात्मक कामलाई खुलेर समर्थन गर्नुपर्छ, तर जहाँ कमजोरी देखिन्छ त्यहाँ प्रश्न र खबरदारी पनि उत्तिकै आवश्यक छ ।

गत भदौ २३ गतेदेखि सुरु भएको जेनजी आन्दोलनले एक वर्ष पूरा भएको छ। तत्कालीन सरकारको सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र त्यसप्रति युवापुस्तामा बढ्दै गएको असन्तुष्टिले जन्माएको आन्दोलनले नेपालको राजनीतिक तथा सामाजिक परिवेशमै ठूलो परिवर्तन ल्यायो। सरकारले भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’ घोषणा गर्दै सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ । तर, आन्दोलनको एक वर्ष पूरा हुँदै गर्दा प्रश्न भने अझै उस्तै छ—जेनजी पुस्ताले खोजेको परिवर्तन कति पूरा भयो?एक वर्षअघि सडकमा उत्रिएका युवाहरूको माग केवल सामाजिक सञ्जालको प्रतिबन्ध हटाउने विषयमा सीमित थिएन । सत्ताधारी दलका कार्यकर्तालाई राजनीतिक नियुत्ति दिलाउन जेनजी आन्दोलन भएको होइन । हिजोका सत्ताधारीका कार्यकर्तालाई एक हजार पाँच सय ९४ स्थानबाट हटाइयो तर त्योभन्दा बढी स्थानमा योग्यता र क्षमताको आधारमा नभइ,सत्ताधारी दलोै कार्यकर्ता र सदस्यको नाताले नियुक्ति भएका छन् । के आन्दोलनको उदेश्य यस्तै हो ? भ्रष्टाचार नियन्त्रण, राजनीतिक जवाफदेहिता, सार्वजनिक संस्थामा सुधार, रोजगारीका अवसर, अवसरमा समानता, पारदर्शिता र राज्य सञ्चालनमा नयाँ पुस्ताको अर्थपूर्ण सहभागिताजस्ता विषय आन्दोलनका मुख्य एजेन्डा हुन् । ती एजेण्डामा काम शुरु नै भएएको छैन । छोटो समयमै आन्दोलनले देशका विभिन्न क्षेत्रमा प्रभाव पा¥यो र पुरानो राजनीतिक शैलीप्रति युवापुस्ताको असन्तुष्टि कति गहिरो रहेछ भन्ने स्पष्ट देखायो।

उनीहरूको बलिदानपछि देशको राजनीतिक समीकरणमै परिवर्तन आयो र अन्तरिम सरकार गठन भयो। त्यसपछि भएको निर्वाचनबाट लोकप्रिय मत प्राप्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बने।अहिले भने जनताले निर्वाचित प्रतिनिधिसँग जवाफ माग्न थालेका छन्। सार्वजनिक पदमा बसेकाहरूको काम, निर्णय र जीवनशैलीमाथि नागरिकको प्रश्नको उत्तर दिनसक्ने क्षमता वर्तमान सरकारसँग देखिएको छैन । प्रश्नबाट सरकार भागिरहेको छ । जनताले निरन्तर निगरानी गरिरहेका छन् । वर्तमान सरकारले एक वर्षको अवधिमा केही महत्वपूर्ण कामको सुरुवात त गरेको छ। सुशासनलाई प्राथमिकतामा राख्ने प्रयास, राज्यका निकायलाई थप जवाफदेही बनाउने पहल, सेवा प्रवाह सुधार गर्ने प्रयास र प्राकृतिक विपत्तिका समयमा देखाएको सक्रियता सकारात्मक पक्षका रूपमा लिन सकिन्छ। सरकारले गरेको प्रत्येक काम पूर्ण र पर्याप्त छ भन्न नसकिए पनि भएका राम्रा कामलाई राम्रो भन्न सक्ने इमान्दार राजनीतिक संस्कार पनि आवश्यक छ।
त्यसैले अहिलेको सरकारका लागि सबैभन्दा ठूलो चुनौती भनेको जेनजी आन्दोलनले दिएको जनादेशलाई व्यवहारमा प्रमाणित गर्नु हो। केवल सरकार परिवर्तन गरेर मात्र परिवर्तन पूरा हुँदैन। राज्यका संस्थाहरू बलियो बनाउनुपर्छ। कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्छ। सार्वजनिक पदमा बसेका व्यक्तिहरू जनताप्रति उत्तरदायी हुनुपर्छ।

जेनजी आन्दोलनले राज्यलाई एउटा महत्वपूर्ण पाठ सिकाएको छ—नागरिकलाई कमजोर ठान्नु हुँदैन। नागरिकले आफ्नो अधिकार र प्रश्न गर्ने क्षमता बुझिसकेको छ। परिवर्तनको माग गर्नु जति महत्वपूर्ण छ, परिवर्तनलाई संस्थागत गर्न योगदान गर्नु पनि उत्तिकै आवश्यक छ। अन्ततः जेनजी आन्दोलनले दिएको सन्देश स्पष्ट छ—सरकार परिवर्तन मात्र होइन, शासन गर्ने संस्कार नै परिवर्तन हुनुपर्छ । आन्दोलनमा ज्यान गुमाएकाहरूको बलिदानको वास्तविक सम्मान त्यतिबेला मात्र हुनेछ, जब उनीहरूले खोजेको परिवर्तन राज्यका नीति, संस्था र नागरिकको दैनिक जीवनमा अनुभूति हुने गरी स्थापित हुनेछ ।

Related Post
Share

This website uses cookies.